आज गोरखाको उच्च क्षेत्र तथा गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ ।
गएरातिदेखि त्यस क्षेत्रमा ठूलो हिमपात भइरहेको हो । माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा गएरातिदेखि हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
वारागुङ मुक्तिक्षेत्र–३ स्याङवचेदेखि कोरलानाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे भएका छन् । स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा र सुर्खाङलगायत ठाउँमा योसहित यस वर्ष छैटौँपटक हिमपात भएको हो ।
हिमपातका कारण जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा बर्खेखेती शुरु हुने बेला हिमपात भएकाले किसानलाई राहत पुग्नेछ । वारागुङ मुक्तिनाथ क्षेत्रमा पनि हिमपात भएको छ ।
हिमपातका कारण मुक्तिनाथ पुग्ने दर्शनार्थी प्रभावित भएका छन् । तर हिमपातको सौन्दर्यताले पर्यटकमा उत्साह छ । यसैबीच आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भागमा केही ठाउँमा हावाहुरीको सम्भावना छ ।
त्यस्तै आजराति मधेश र कोशी प्रदेशका तराई भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अरु ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।











