२०८२, २९ चैत्र आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो



परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्तो दिएको बताएका छन् । नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय पत्रकारसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री शाहले मोदीको भारत भ्रमणको निम्तो स्वीकार गरिसकेको बताए । 

“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निमन्त्रणलाई प्रधानमन्त्री बालेन शाहले स्वीकार गरिसक्नुभएको छ । दुई देशबीचको उच्चस्तरीय भ्रमण र द्विपक्षीय परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ,” परराष्ट्रमन्त्री खनालले भने । चैत १३ मा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत यो निम्तो दिएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए । 

उनले सरकारले आगामी १० वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको बताएका छन् । साथै, नेपाललाई ‘कम विकसित देश’बाट ‘मध्यम आय भएको देश’मा स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए । 

“सरकारले आगामी १० वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) दोब्बर बनाउने र नेपाललाई ‘कम विकसित देश’बाट ‘मध्यम आय भएको देश’मा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ,” परराष्ट्रमन्त्री खनालले भने । 

यसका लागि सुशासन (भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवा) र आर्थिक सुधार (पर्यटन, पूर्वाधार र जलविद्युत्)मा विशेष जोड दिइएको उनको भनाइ छ । 

उनले परराष्ट्र नीतिका सम्बन्धमा पनि भनाइ राखेका छन् । नयाँ सरकार भए तापनि परराष्ट्र नीतिमा निरन्तरता कायम राख्ने र संविधानले निर्दिष्ट गरेका सार्वभौमिकता, भौगोलिक अखण्डता र असंलग्नताको सिद्धान्तमा अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।

खाडी मुलुकमा कार्यरत करिब २० लाख नेपालीको सुरक्षा र यस संकटले नेपालको रेमिट्यान्स, इन्धनको मूल्य र मलखाद आपूर्तिमा पार्न सक्ने प्रभावबारे सरकार गम्भीर रहेको पनि बताए । यस विषयमा भारतीय विदेश मन्त्रीसँग छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : २०८२, २९ चैत्र आइतबार ००:००  १० : ०७ बजे