२०८३, २९ असार सोमबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कान्तिपुर अगाडिको शंकास्पद गाडी रास्वपा नेताको भएको खुलासा



सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा छाडिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।

बा ०१–०३४ च ८४८० नम्बरको उक्त गाडीमा सवार भई सञ्चारगृहको गेट अवरुद्ध गरिएपछि सुरक्षा निकायले क्रेनको सहायताले गाडी नियन्त्रणमा लिएको थियो।

उक्त गाडी हाल सानिमा बैंकको नाममा दर्ता रहेको छ। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले उक्त गाडी आफ्नो छोरा रविले चढ्ने गरेको स्वीकार गरेका छन्।

मेयर जयसवालले भने, ‘करिब एक महिनाअघि खरिद गरिएको हो। नामसारी भइनसकेकाले अझै बैंककै नाममा छ।’ उनका अनुसार गाडी कहिले छोरा स्वयम् र कहिले चालकले चलाउने गरेका थिए।

रवि जयसवाल केही समयअघि मात्र रास्वपामा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका थिए। रास्वपाले गत जेठ ८ गते उनलाई पार्टीको ‘केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभाग’को सदस्यमा मनोनयन गरेको थियो। रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले उनलाई उक्त जिम्मेवारी दिएका थिए। रविका बाबु कन्थमणि भने नेकपा एमालेबाट निर्वाचित मेयर हुन्।

सोमबार बिहान कान्तिपुर मिडिया हाउस, हिमालय टेलिभिजन र अनलाइनखबरको गेटमा यसरी नै गाडी तेर्स्याइएको थियो। प्रहरीले ती गाडीहरू उठाएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३, २९ असार सोमबार ००:००  ४ : ४१ बजे