सोलुखुम्बुको सोताङ गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका गाउँपालिकाका स्थायी बासिन्दालाई लक्षित गरी दुईदिने प्रशासनिक सेवा शिविर सञ्चालन गरेको छ।
साउन १८ गतेदेखि सुरु भएको शिविर चाबहिलस्थित ए वान पार्टी प्यालेसमा सञ्चालन भइरहेको छ। शिविर साउन १९ गतेसम्म जारी रहने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतका अनुसार पछिल्लो समय रोजगारी, अध्ययन तथा अन्य विभिन्न कारणले काठमाडौंलगायत शहरी क्षेत्रमा बसोबास गर्ने गाउँपालिकाका नागरिकको संख्या बढ्दै गएकाले उनीहरूलाई गाउँसम्म पुग्नुपर्ने झन्झट हटाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
उनले अशक्त, अपाङ्गता भएका तथा सेवा लिन असमर्थ नागरिकका लागि आवश्यक परे घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइने जानकारी दिए। साथै, काठमाडौं तथा अन्य शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परेका व्यक्तिगत घटना दर्ता (पञ्जीकरण) सम्बन्धी सेवाहरू पनि सहज रूपमा उपलब्ध गराइने बताए।
शिविरमार्फत जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, व्यक्तिगत घटना दर्ता (पञ्जीकरण), सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा, विभिन्न सिफारिस, प्रमाणपत्र वितरण तथा प्रमाणीकरण, नागरिकता सम्बन्धी सिफारिसलगायत गाउँपालिकाबाट प्रदान गरिने विभिन्न प्रशासनिक सेवाहरू उपलब्ध गराइँदै छ ।
गाउँपालिकाले सम्बन्धित सबै स्थायी बासिन्दालाई शिविरको अवसरको सदुपयोग गर्दै तोकिएको मिति र स्थानमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।











