२०८३, २५ श्रावण सोमबार | Mon Aug 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेन–रवि बालुवाटार भेटको अन्तर्य



प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबार (साउन २४) बेलुका बालुवाटार पुगे । सरकार र रास्वपाबीच पछिल्लो समय तिक्तता बढिरहेको चर्चा भइरहेका बेलाको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा बालेन र रविबीच करिब ४५ मिनेट कुराकानी भएको बूढानीलकण्ठ स्रोतले पुष्टि गरेको छ । उनीहरू दुईले यसअघि चार घण्टासम्म वार्ता र छलफल गरेका थिए । बालेन रास्वपाका वरिष्ठ नेता पनि हुन् ।

आफ्नै सरकारविरुद्ध रास्वपाका सांसदले खबरदारी र आलोचना गर्न थालेकामा प्रधानमन्त्री बालेन सन्तुष्ट छैनन् । शुक्रबार (साउन २२) राति उनले सामाजिक सञ्जाल फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको आशयको स्टाटस लेखेका थिए ।

“केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुनसक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन,” बालेनले लेखेका थिए ।

त्यसपछि रास्वपाका नेता मनिष झाले प्रतिनिधिसभा बैठकमै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खबरदारी गरेका थिए ।

यस्तो अवस्थामा दुई नेताबीचको भेटमा पछिल्लो राजनीतिक परिस्थिति, सरकार सञ्चालन, पार्टीका पदाधिकारी मनोनयन, राजदूत नियुक्तिलगायत विषयमा छलफल भएको रविनिकट स्रोतले जनाएको छ ।

सभापति रविले मनोनयन गर्ने उपसभापति गृहमन्त्री सुधन गुरुङ वा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल को बन्ने भन्ने विषय टुंगिएको छैन ।

पदाधिकारी र सदस्य मनोनयनका निम्ति साउन १३ गते वर्तमान केन्द्रीय समितिको दोस्रो बैठक बसेको थियो । तर, बालेन टिमले नाम नदिँदा पदाधिकारी र सदस्यको मनोनयन लम्बिएको रविनिकट स्रोतको जिकिर छ ।

स्रोतका अनुसार, सरकारले विभिन्न निकायमा हालसम्म गरेका नियुक्तिका विषयमा पनि दुई नेताबीच ‘गम्भीर’ छलफल भएको थियो । केही व्यक्तिको विगतको पृष्ठभूमि विवादित रहेको तथा पटक–पटक अवसर पाउँदै आएकालाई पनि पुनः जिम्मेवारी दिइएको विषयमा कुराकानी भएको हो ।

प्रकाशित मिति : २०८३, २५ श्रावण सोमबार ००:००  १२ : ५० बजे