२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अघि बढाइँदै १३२ केभी भूमिगत विद्युत् प्रसारण लाइन आयोजना, सार्वजनिक सुनुवाइ सम्पन्न



सिंहदरबार–मैतीदेवी–चावहिल १३२ केभी भूमिगत विद्युत् प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ महानगरपालिका वडा नं. ७ को वडा कार्यालय भवनस्थित सभाहल, मित्रपार्कमा आयोजित कार्यक्रममा वडा अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा आयोजनाका प्रमुख, विभिन्न वडाका जनप्रतिनिधि, वडा सदस्य तथा वडा नं. ७ का स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सार्वजनिक सुनुवाइका क्रममा वडा सदस्य तथा स्थानीयवासीहरूले आयोजनासम्बन्धी विभिन्न जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। उठाइएका प्रश्नहरूको जवाफ आयोजनाका प्रमुख कैलाश पन्थले दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष विमल कुमार होडाले चावहिल क्षेत्रमा निर्माण हुनुपर्ने आकाशे पुल उच्च भोल्टेज (हाइटेन्सन) विद्युत् प्रसारण लाइनका कारण निर्माण हुन नसकेको उल्लेख गर्दै सम्बन्धित निकायलाई यसबारे जानकारी गराइसकिएको बताए। पैदलयात्रीको सहजताका लागि करिब दुई मिटर चौडाइको पेटी (फुटपाथ) निर्माण गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।

वडा अध्यक्ष होडाले अव्यवस्थित विद्युत् तारका कारण सर्वसाधारणले जोखिम र सास्ती भोग्नुपरेको उल्लेख गर्दै ताररहित (भूमिगत) विद्युत् प्रणालीको आवश्यकता औँल्याए। उनले अव्यवस्थित तार समयमै हटाई नागरिकको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरे।

उनले आयोजना राम्रो भए पनि सुरुवात गर्नु मात्रै ठूलो उपलब्धि नभई समयमै गुणस्तरीय रूपमा सम्पन्न गरी दीगो बनाउन आवश्यक रहेको बताए। विकास निर्माणका सकारात्मक र जनहितका कार्यमा वडा कार्यालयको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कार्यक्रममा आयोजनाका प्रमुख कैलाश पन्थले १३२ केभी प्रसारण लाइन भूमिगत भएपछि हाल नागरिकले भोग्दै आएका अव्यवस्थित तार तथा त्यसबाट सिर्जित समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे। वातावरणीय अध्ययन प्रक्रिया नागरिकको सहभागिताबिना पूर्ण हुन नसक्ने भएकाले सार्वजनिक सुनुवाइ आयोजना गरिएको स्पष्ट पार्दै उनले प्रारम्भिक चरणमा केही चुनौती रहे पनि सम्बन्धित सबै निकायसँग समन्वय गर्दै आयोजना अगाडि बढाइने बताए।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि आयोजना कार्यान्वयनका क्रममा जनसुरक्षा, सडक व्यवस्थापन, वातावरणीय प्रभाव न्यूनीकरण तथा निर्माण सम्पन्न भएपछि दिगो व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति : २०८३, ३० भदौ मंगलबार ००:००  ५ : ४४ बजे