त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. देवराज अर्यालद्वारा लिखित कृति– स्थानबोध नेपाली साहित्यका लागि नवीनतम कृति हो । २०८३ सालमा प्रकाशित भएको स्थानबोध विधागत दृष्टिकोणमा नियात्राको रुपमा प्रकाशित भएको छ । जसमा वैश्विक दृष्टिकोणबाट एउटा विशिष्ट स्थानलाई केन्द्रीय गरेर राष्ट्रिय दृष्टिकोण उजागर गर्ने काम भएको छ । प्रस्तुत पुस्तकमम लेखकले विभिन्न सन्दर्भ र विषयका ४७ शीर्षकहरुमार्फत गाउँको भौगोलिक परिवेश, पारिवारिक जीवन, शिक्षा, अर्थतन्त्र, विकास, कृषि, पशुपालन, संस्कृति, बसाइ–सराइ, संचार र राजनीति र वर्तमान चरित्रलाई चित्रण गर्नु भएको छ ।
प्रश्नबाट विश्लेषण गर्नु पर्दा यो पुस्तक मार्फक लेखकले ‘मानिस ठाउँमा बस्छ कि ठाउँ मानिसभित्र बस्छ ?’ भन्ने सन्दर्भबाट विषयवस्तुलाई उजागर गर्नु खोज्नु भएको छ । वास्तवमा यही गहिरो प्रश्नको सेरोफेरोमा उभिएको एउटा नवीन साहित्यिक प्रयोग हो । डा. देवराज अर्यालको स्थानबोध ।
नेपाली साहित्यमा कविता, कथा, गजल, यात्रा, उपन्यास र नियात्राजस्ता स्थापित विधाहरूका आफ्नै परम्परा छन । यद्यपि, ‘स्थानबोध’ ती विधागत सीमाहरूलाई नाघ्दै एउटा ठाउँलाई केन्द्रमा राखेर समय, समाज, भूगोल, विकास, अर्थतन्त्र तथा पत्रकारिता र सञ्चारका विविध आयामलाई एउटै आख्यानमा जोडने प्रयत्न हो ।
स्थानबोध केवल कुनै भूगोलको वर्णन, यात्राको संस्मरण वा आत्मअनुभूतिको अभिव्यक्ति मात्र होइन, तथ्य, अनुभव, स्मृति र विश्लेषणको संयोजनबाट स्थानलाई बुझ्ने र स्थानमार्फत समाज तथा समयलाई पढने सिर्जनात्मक प्रयास हो ।
कल्पनाको अतिरञ्जनाभन्दा यथार्थको धरातलमा उभिएर डा. अर्यालले एउटा विशिष्ट स्थानलाई आधारभूमि बनाउँदै त्यसको सामाजिक, आर्थिक, विकासात्मक, भौगोलिक तथा सञ्चारगत स्वरूपलाई स्थानीय अनुभवदेखि वैश्विक दृष्टिकोणसम्म जोड्नुभएको छ । त्यसैले ‘स्थानबोध’ एउटा ठाउँको कथा भएर पनि अन्ततः मानिस, समाज र समयको कथा बन्न पुगेको आभाष दिनेगरी प्रकटित भएको छ ।
लेखकले कृतिमा पुख्र्यौली थातथलो गुल्मी जिल्लाको आँपचौर भएको तथ्य पेश गर्नु भएको छ । तथापि, २०१२–२०२८ सालको अवधिमा नेपालमा जसरी पहाडबाट तराइ बसाइ सर्ने क्रम शुरु भयो, त्यही श्रृंखलामा आफ्ना हजुरबुबा बलराम अर्याल नवलपरासी बसाइ सरिआएको चर्चा गर्नु भएको छ । तर, फरक परिवेश के छ भने उहाँको श्रीमतीको निधनपछि साना छोराहरुलाई बचाउनु र हुर्काउनु पर्ने मनोदशाको भारका कारण तराईको समथर र उर्वर भूमिभन्दा अलि उचाईको मध्यमस्तरको हावापानी भएको स्थान द्वारीमा बस्ने कठिन निर्णय गर्नु परेको सन्दर्भमालाई उजागर गर्नु भएको छ । यस प्रसंगमा लेखकले सामान्य बसाइ सराइको चर्चाभन्दा पनि विगतका निर्णयहरुको कारणले वर्तमान र भविष्यमा पर्न सक्ने प्रभाव र असरहरुको बारेमा प्रकाश पार्नु भएको छ ।
पारिवारिक परिस्थितिको प्रतिकूलतासँगै पुर्खाको जीवनयात्राले अर्को भूगोल रोज्न बाध्य बनाउँछ मानिसलाई । यसरी भूगोल बदलियो, परिवेश बदलियो र जीवनका अनुभव सँगै नयाँ पुस्ताको यात्रा पनि अघि बढ्यो । त्यही माटो, त्यही परिवेश र त्यही सामाजिक–सांस्कृतिक चेतनाको काखमा जन्मिएर हुर्किनु भएका डा. अर्याल आज आफ्नो जन्मभूमि, पुख्र्यौली विरासत र जीवनका स्मृतिलाई साहित्यिक चेतनाको आलोकमा नियाल्दै हुनुहुन्छ ।
उहाँको कृति ‘स्थानबोध’ केवल कुनै स्थान, भूगोल वा परिवेशको परिचय दिने पुस्तक मात्र होइन; यो त बाल्यकाल, जन्मभूमि, स्मृति, इतिहास र पहिचानबीचको आत्मीय सम्बन्ध खोज्ने एउटा गहिरो बौद्धिक तथा साहित्यिक यात्रा हो । मानिस जहाँ पुगे पनि उसको मनको कुनै कुनामा जन्मभूमिको माटो, पुर्खाको पदचाप र बाल्यकालका स्मृतिहरू जीवित रहिरहन्छन् भन्ने अनुभूतिलाई यस कृतिले स्मरण गराउँछ ।
मानिसको पहिचान केवल उसको नाम, पद र वर्तमान अवस्थाले निर्धारण गर्दैन, ऊ जन्मिएको भूगोल, हुर्किएको परिवेश, सामाजिक सम्बन्ध, संस्कृति र जीवनका अनुभूतिहरूले पनि उसको व्यक्तित्व निर्माण गरेका हुन्छन । यही मानवीय अनुभूति र जन्मभूमिसँगको आत्मीय सम्बन्धलाई साहित्यिक तथा सामाजिक दृष्टिकोणबाट प्रस्तुत गरिएको छ यस पुस्तकमा ।
लेखकले आफ्नो जन्मस्थान नवलपरासीको द्वारी गाउँलाई केन्द्रमा राखेर व्यक्तिगत स्मृति, बाल्यकालका साथीभाई संगको अनुभव र गाउँको सामाजिक जीवनलाई पुस्तकमा समेट्नु भएको छ । ‘स्थानबोध’ शीर्षकले नै मानिस र स्थानबीचको सम्बन्धलाई गहिरो अर्थमा व्याख्या गर्छ । स्थान भनेको नक्सामा देखिने भूभाग मात्र होइन, त्यससँग जोडिएका मानिस, इतिहास, श्रम, संस्कार, भाषा र सामूहिक स्मृतिको समष्टिगत पहिचान पनि हो । यस अर्थमा यो पुस्तक एउटा गाउँको परिचय मात्र नभई जन्मभूमिसँग जोडिएको मानवीय अस्तित्वको खोजी पनि हो ।
पुस्तकको उल्लेखनीय पक्ष ग्रामीण समाजको जीवनशैली र सांस्कृतिक पहिचानको चित्रण हो । आमाको श्रम र गाउँको पाठशाला, देवीथान : गाउँको आस्था, उत्सवको केन्द्र, ‘घाँटुनाच : मगर गाउँको सांस्कृतिक आत्मा र ‘दशैँ : सम्पूर्ण गाउँको साझा उत्सवजस्ता विषयले गाउँको पारिवारिक, शैक्षिक तथा सांस्कृतिक जीवनलाई जीवन्त रूपमा बुझ्ने आधार प्रदान गर्नु हुन्छ ।
विशेषगरी ग्रामीण समाजमा महिलाले गर्ने श्रम, सामूहिक आस्था, परम्परागत चाडपर्व र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका सांस्कृतिक अभ्यासको चर्चा सामाजिक दृष्टिले महत्त्वपूर्ण छ । गाउँका चौतारा, पँधेरा, मेलापात र सामूहिक जमघट केवल दैनिक जीवनका गतिविधि थिएनन, ती सामाजिक सम्बन्ध, सूचना आदानप्रदान र सामुदायिक एकताका आधारसमेत थिए । लेखकले ‘रेडियो, गफगाफ र गाउँको अनौपचारिक सञ्चार संस्कृति’ तथा ‘पँधेरा, चौतारा र गाउँको प्रारम्भिक सञ्चार प्रणाली’ जस्ता विषयमार्फत सञ्चारको परम्परागत स्वरूपलाई समेत महत्व दिनुभएको छ । आज डिजिटल प्रविधि र सामाजिक सञ्जालले सञ्चारको स्वरूप बदलिरहेको अवस्थामा पुरानो ग्रामीण सञ्चार संस्कृतिको स्मरण र अभिलेखीकरणले पुस्तकलाई थप सामाजिक महत्त्व प्रदान गरेको छ ।
प्रस्तुत पुस्तकको अर्को विचारणीय पक्ष कृषि, ग्रामीण अर्थतन्त्र र विकाससम्बन्धी विमर्श हो । ‘खेतबारी : गाउँको आर्थिक जीवनको मेरुदण्ड’, ‘अदुवा’, ‘कोदो’ र ‘लोपोन्मुख बालीहरू’ अनि मकै खेती बादरको आतंक जस्ता शीर्षकले स्थानीय उत्पादन, परम्परागत कृषि ज्ञान र ग्रामीण आत्मनिर्भरताको महत्वलाई उजागर गर्छन । विशेषगरी ‘गाउँको बदलिँदो यथार्थ : सडक आयो, उत्पादन हरायो’ भन्ने शीर्षकले आधुनिक विकासको प्रचलित अवधारणामाथि गम्भीर प्रश्न उठाउँछ । सडक, यातायात र भौतिक पूर्वाधारको विस्तारलाई विकासको महत्वपूर्ण उपलब्धि मानिए पनि त्यससँगै गाउँको उत्पादन प्रणाली, कृषि अभ्यास र स्थानीय अर्थतन्त्र कमजोर हुँदै गएको अवस्थालाई बेवास्ता गर्न मिल्दैन । विकास भनेको सडक र भवन निर्माणमा मात्र सीमित हुनु हुँदैन, स्थानीय उत्पादन, रोजगारी, खाद्य सुरक्षा, प्राकृतिक स्रोतको संरक्षण र आर्थिक आत्मनिर्भरता पनि विकासका आधार हुन । यस दृष्टिले पुस्तकले ग्रामीण विकासको वास्तविक अर्थबारे पाठकलाई सोच्न बाध्य बनाउँछ । भूगोल, समाजशास्त्र, मानवशास्त्र र पत्रकारिताको अन्तरसम्बन्धबाट ग्रामीण जीवनलाई हेर्ने प्रयास यस पुस्तकको अर्को विशेषता हो ।
समालोचनात्मक दृष्टिले हेर्दा स्थानबोधले ग्रामीण समाजका विविध पक्षलाई एउटै कृतिमा समेट्ने प्रयास गरेको भए पनि ती विषयको विश्लेषणलाई अझ गहिरो बनाउने सम्भावना रहन्छ । एउटा सानो पुस्तकमा सबै विषयवस्तुहरुको गहिराइ र विश्लेषणको अपेक्षा गर्नु आफैमा महत्वाकांक्षी हुनु स्वाभाविक हो । तथापि, भाषागत पक्षलाई अझ परिष्कृत र परिमार्जित गर्न सकिने ठाउँहरु छन । यसमा आगामी प्रकाशनहरुमा ध्यान जानेनै छ । यद्यपि प्रस्तुत पुस्तकमा समावेश भएका मुद्दाहरुले नेपाली समाजमा बहसको दायरालाई निकै विस्तार गरेको छ । विशेषगरी आफ्नो जन्मभूमि, स्थानीय संस्कृति, ग्रामीण अर्थतन्त्र र सामाजिक परिवर्तनमा रुचि राख्ने पाठकका लागि पुस्तकले बलियो बौद्धिक उर्जा प्रदान गर्नसक्छ ।
समग्रमा भन्नेपर्दा डा. अर्यालको स्थानबोध जन्मभूमिको स्मृति, ग्रामीण समाजको यथार्थ, सांस्कृतिक पहिचान र विकासको बदलिँदो स्वरूपलाई एकै ठाउँमा जोड्ने विषयगत रूपमा महत्वपूर्ण कृति हो । सरल भाषामा लेखिएको यो पुस्तकले एउटा गाउँको कथा सुनाउँदै गर्दा समग्र नेपाली समाजले भोगिरहेको परिवर्तन, चुनौती र सम्भावनातर्फ पाठकको ध्यान आकर्षित गर्छ । आज शिक्षा, रोजगारी र अवसरको खोजीमा गाउँबाट सहर तथा विदेशतर्फ जाने क्रम बढिरहेको अवस्थामा आफ्नो जन्मभूमिको इतिहास, संस्कृति, उत्पादन र सामाजिक सम्बन्धलाई अभिलेखीकरण गर्नु आफैँमा महत्वपूर्ण कार्य हो ।
वस्तवमा जन्मभूमि केवल मानिस जन्मिएको भौगोलिक स्थान होइन, त्यो उसको स्मृति, संस्कार, संस्कृति, सम्बन्ध र पहिचानको पहिलो पाठशाला पनि हो । समयसँगै मानिस स्थानबाट टाढा पुग्न सक्छ, तर स्थानले निर्माण गरेको अनुभूति र पहिचान उसको जीवनबाट सजिलै मेटिँदैन । यही सत्यलाई स्मृति र सामाजिक विश्लेषणको माध्यमबाट पुनः स्मरण गराउने प्रयास हो स्थानबोध ।
स्थानबोधले यिनै पक्षलाई साहित्यिक तथा सामाजिक विमर्शको विषय बनाउने प्रयास गरेको छ । मानिस आधुनिकताको यात्रामा जति अगाडि बढे पनि आफ्नो जन्मभूमि, मौलिक संस्कृति र सामाजिक जरा बिर्सनु हुँदैन भन्ने भाव यस कृतिको मूल मर्मका रूपमा देखिन्छ ।











