काठमाडौं । काठमाडौं उपत्यकामा एक हप्ताभित्रै १० हजार बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो एक हप्तामै उपत्यकामा १० हजार बढी व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जानकारी गराए।
बिहीबारमात्र उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंका २०८५, ललितपुरका ३२० र भक्तपुरका १३५ छन्।
प्रवक्ता गौतमले उपत्यकामा निषेधज्ञा खुलेसँगै मानिसहरूको चहलपहल बढेको र स्वास्थ्य मापदण्ड पूरा पालना नगरिएका कारण संक्रमण संख्या बढेको जनाए।
साथै, बाहिरबाट उपत्यका आउने व्यक्तिहरू दुई साता क्वारेन्टिनमा बसेर काममा फर्किने मापदण्ड भए पनि त्यो पनि पालना नभएको मन्त्रालयले जनाएको छ।











