काठमाडौं । कृषि मन्त्रालयको एक अध्ययनले नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव भएको बताएकोे छ ।
कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले बिहीबार सो सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ ।
प्रारम्भिक प्रतिवेदनमा नेपालमा रासायनिक मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक अध्ययन भने आवश्यक रहेको उल्लेख छ ।
प्रतिवेदनमा तत्काल युरिया प्लान्ट स्थापना गर्नका लागि बायोमास ग्यासिफिकेसन र जलविद्युतको हाइव्रिड प्रविधि अवलम्वन गर्न उपयुक्त हुने सुझाव दिएको छ । नेपालमा जलविद्युतको पर्याप्त उत्पादन हुन थालेकाले विद्युतको महसुल घट्ने आँकलन गर्दै कार्यदलले उक्त प्रविधि उपयुक्त रहेको जनाएको छ ।
युरिया मल उत्पादनका लागि उपयुक्त प्रविधिको छनौट र त्यससँग सम्वन्धित आर्थिक विश्लेषणका पाटोमा थप अध्ययन गर्न सम्बन्धित विषयका विज्ञहरुसँग छलफल गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।











