काठमाडौं ।कोरोना संक्रमितको परीक्षण तथा उपचारबाट सरकारले हात झिकेपछि चौतर्फी विरोध भइरहेको छ।
स्वास्थ्य मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी आफ्नो उपचार आफैं गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको हो।
सरकार कोरोना संक्रमितको उपचारबाट पछि हट्दै गएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले उक्त निर्णयको आलोचना गरेका छन्।
‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय- कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू! यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्नेबाहेक थप केही गरिन्न,’ थापाले भनेका छन्।
सोमबार ट्वीट गर्दै थापाले थपेका छन्, ‘सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ भनेर सिधै भनिदिनुस् प्रधानमन्त्रीज्यू।’
थापा आफैं कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन्।











