बर्दिबास । महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ। औरही–१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो।
आगलागीबाट झण्डै १० करोडको क्षति पीडितले बताएका छन्। चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो नियन्त्रण गरिएको थियो। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका थिए।
‘आगो कहाँबाट सल्केको केही थाहा छैन,’ जेनरल स्टोरका संचालक महेश साहले भने। आइतबार साँझ साँढे सात बजेदेखि गोदामबाट धुँवा आएपछि आगलागी भएको व्यवसायीले पत्तो पाएका थिए।

घटनास्थलमा रहेका स्थानीय सञ्चारकर्मी प्रेमबाबु यदुबंसीका अनुसार व्यवसायी महेश साहले आफ्नै घरको तल्लो फ्लाइटमा हार्डवेयरको गोदाम राखेका थिए। माथिल्लो तल्लामा पारिवारिक बसाई र केही कोठा भाडामा लगाएका थिए।
आगलागी भएको खबर इलाका प्रहरी कार्यालयमा पुगेको सात मिनेटमै निरीक्षक प्रकाश रेग्मीले गौशाला नगरपालिकाको दमकल लिएर घटनास्थल पुगेका थिए। तर, दमकलले कामै नगरेको यदुबंसीले बताए।

महोत्तरीको बर्दिबास, जलेश्वरनाथ नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, जनकपुर उपमहानगपालिकाबाट गएको दमकलले फैलिएको आगो राति साढे ११ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए।
हार्डवेयर पसलको गोदाम भएको घरको माथिल्लो तल्लामा सुविसु नेटको कार्यालय तथा साधना लघुवित्त सञ्चालनमा थियो। हार्डवेयर गोदाम र सुविसुको अफिस जलेर खरानी भएको छ भने लघुवित्तमा आंशिक क्षति भएको छ।











