सिराहा। बोक्सी आरोपमा सिराहाकी एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । सिराहाको मिर्चैया नगरपालिका– ११ गदहवाकी ४० वर्षीया प्रमिलादेवी यादवलाई छिमेकीले निर्घात कुटपिट गरेका हुन् ।
उनले प्रहरीमा उजुरी दिएपछि स्थानीय बासिन्दाले दबाब दिएर २५ हजारमा गाउँमै मिलापत्र गराएका छन् ।
गदहवाकै दुखी यादवलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै उनका तीनजना छोराले कुटपिट गरेको प्रमिलादेवीले बताइन् । ‘बोक्सी भन्दै तीनै दाजुभाइले कुटे,’ उनले भनिन् ।
बोक्सीको आरोपमा दुखी यादवका तीनजना छोरा लक्ष्मण, श्याम र अरुणकुमारले कुटपिट गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलालप्रसाद जैसवालले बताए । उनलाई ३ मंसिरमा घरमै रहेको वेला कुटपिट गरिएको थियो । मिर्चैया स्वास्थ्य चौकीमा उपचारपछि उनी घरमै आराम गरिरहेकी छिन् ।
घटनालगत्तै प्रहरी टोली गाउँमा पुगेको थियो । उनले दिएको जाहेरीका आधारमा प्रहरीले घाउ जाँच गराएको डिएसपी जैसवालले बताए । प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि स्थानीयले मिलापत्र गराउन दबाब दिएका हुन् । पञ्चायत बसेर आइतबार मिलापत्र गराएको पाइएको डिएसपी जैसवालले बताए । ‘स्थानीय बासिन्दाले महिलामाथि दबाब दिएर पञ्चायत गरी २५ हजार रुपैयाँमा मिलापत्र गराएका रहेछन्,’ उनले भने ।











