महोत्तरी । बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए । बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको उनले बताए ।
निषेधाज्ञा जारी भएको क्षेत्र मा ५ जनाभन्दा बढस् भेला हुन पाउने छैनन् । तर पूर्व पश्चिम राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिएका छन् ।











