पर्वत । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम सुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासका कारण रोकिएको कालोपत्रे बिछाउने काम ८ महिनापछि पुन सुरु गरिएको हो ।
पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुलदेखि मालढुङ्गासम्मको २४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न थालिएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले जनाएको छ ।
‘सडक कालोपत्रको काम नयाँपुलबाट सुरु भएको छ । कामदारहरू काममा खटिईसकेको’ कम्पनीका प्रतिनिधि राजाराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार जाडो नबढेसम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिछाउने काम सकिने छ । अनुकूल भएसम्म कास्की र पर्वतको सिमानासम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने आचार्यले बताए ।
पर्वत खण्डमा पर्ने पतीचौर र कुस्मा बजार भित्र ४ लेन र अन्य खण्डमा दुई लेनमा सडक बिस्तार हुँदै छ । निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ । बागलुङको सिमाना मालढुंगादेखि नयाँपुलसम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ ।











