डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।मृतक मन्जु त्रिपाठीका चार वर्षीय छोराको उपचारका लागि दिपायल लैजाने क्रममा बाटोमा नै मृत्यु भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी, उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैनका कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा ग्लोबल आईएमई बैंकको बोगटान शाखामा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते भएका छन् ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घाइतेको उद्धार र शव संकलनको कार्य जारी छ । स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी उद्धारमा खटिएका छन् ।











