२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोप केन्द्रबाट संक्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाउन मन्त्रालयको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन समेत दिएको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापनबारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सबै स्वास्थ्य कार्यालयले सम्पर्क व्यक्ति तोक्न निर्देशन समेत दिएका छन् ।

मन्त्रालयले तोकेका लक्षित समूहलाई मात्रै खोप प्रदान गर्ने व्यवस्था कडाइका साथ लागू गर्न समेत भनिएको छ ।

असार २९ गतेदेखि सञ्चालित भेरोसेलको पहिलो डोज लगाएका लक्षित समूहलाई २१ दिन पूरा भएपछि दोस्रो डोज दिने व्यवस्था मिलाउन आग्रह गरेको छ । कतिपय जिल्लाहरुमा मन्त्रालयले तोकेको लक्षित समूहलाई जोनसन एण्ड जोनसनको खोप लगाउन अभियान सुरु नभएका हुँदा तत्काल खोप अभियान सञ्चालन गर्न विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।

कोभिड खोप लगाउने व्यक्तिले मन्त्रालयको अनलाइन रजिष्ट्रेशन प्रणालीमा प्रि-रजिष्ट्रेसन गर्न र यसअघि खोप लगाएका व्यक्तिले पनि पोस्ट रजिष्ट्रेशन गराउने व्यवस्था मिलाउन समेत विभागले भनेको छ ।

प्रकाशित मिति : २०७८, १९ श्रावण मंगलबार ००:००  २ : ५८ बजे