२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटामा कांग्रेसको बर्चस्व कायम गर्न महालक्ष्मीको नगरसभापतिमा दाेहाेरिन्छु : नेता राया



नेपाली कांग्रेस धनकुटाका नेता ध्रुवराज रायाले आन्तरिक चुनावमा गुटगत प्रतिस्पर्धा गर्दा पार्टी कमजोर हुने बताएका छन् । नेपाली कांग्रेसको वडा देखि केन्द्रिय नेतृत्व चयन सम्ममा हुने आन्तरिक प्रतिस्पर्धाको असर आम निर्वाचनसम्म रहने भन्दै उनले सम्भव भएसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाका कांग्रेस नगरसभापति समेत रहेका नेता रायाले एकताको महाधिवेशन गरेर कार्यकर्ता र जनतामा नयाँ सन्देश दिनुपर्ने बताएका छन् । वर्तमान अवस्थामा कांग्रेस प्रति जनताको आशा र भरोसा बढेकाले आफु आफुमा गुटगत प्रतिस्पर्धा गरेर जनभावना विपरितको सन्देश दिन नहुने उनले बताएका हुन् । ‘अहिले आन्तरिकरुपमा हुने गुटगत प्रतिस्पर्धाको असर आम निर्वाचन सम्म रहन्छ नै त्यसले पार्टीलाई कमजोर बनाउँछ । त्यसैले एकताको महाधिवेशन सम्पन्न गर्नुपर्छ ।’ अनलाईन सरोकारसँग उनले भने, ‘स्थानीय, प्रदेश र संघिय निर्वाचन निकट छ त्यसैले यो बेला सहमतिमा नेतृत्व चयन गरेर अघि बढ्नुको विकल्प छैन ।’ केन्द्र देखि टोेलबस्ति सम्मका नेता कार्यकर्ताले आपसी सहमतिलाई जोड दिनुपर्ने उनले बताए ।

नगरसभापतिमा दावी

नेता रायाले महालक्ष्मी नगरसभापतिमा पुनः दावी गरेका छन् । संघियता लागु भएपछि आफुले पार्टीको जिम्मेवारी सम्हालेर कांग्रेस बलियो बनाएको तर्क गर्दै उनले एक कार्यकाल पुनःसभापति भएर महालक्ष्मीमा कांग्रेसको बर्चस्व कायम गराउने बताए । ‘साह्रै कमजोर अवस्थाको पार्टीलाई निकै बलियो बनाएको छु । अब बर्चस्व कायम गराउने र चुनाव जित्ने परिस्थितमा पुर्याउन फेरि सभापतिमा दावी गरेको छु ।’ उनले भने, ‘सहमतिमै सभापतिको जिम्मेवारी पाउँछु यदि त्यसो नभए बहुमत कार्यकर्ताको मत जितेर आउँछु ।’ आफुले पक्ष विपक्ष नभनी निरन्त समाजिक काम गरेकाले आफ्नो उमेद्वारी बलियो रहेको उनको तर्क छ । युवा परिचालन, कार्यकर्ता व्यवस्थापन, जनतालाई स्वरोजगार, दिगो विकास निर्माणलगायतका मुल ऐजेण्डा सहित आफुले राजनीतिक तथा सामाजिक काम गरिरहेको उनले बताए ।

२०५१ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका राया २०५६ तरुणदल धनकुटा जिल्ला कार्यसमिति सदस्य बनेका थिए ।

पार्टीको १३ औं महाधिवेशनमा मारेकटहरे गाविकासको सभापति बनेका उनी स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालिका वडा नंबर २ मा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

राया अहिले कांग्रेसको संघिय संरचना अन्तरगत नगरपालिकामा पार्टी सभापतिको भूमिकामा छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको नगरसभापतिमा वर्तमान सभापति राया र अर्का नेता परिवर्तन पौडेलले उमेद्वारी घोषणा गरेका छन् । त्यहाँ सहमति नभए १५४ जना प्रतिनिधिले सभापतिमा मतदात गर्नेछन् ।

प्रकाशित मिति : २०७८, ३१ भाद्र बिहीबार ००:००  ३ : ४८ बजे