२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो



मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए ।

“एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाइबाट गत भदौ १३ गते खिच्नुभएको सो चरा चराविद् डा. हेमसागर बराल र सोम जिसले इउरोपियन रोलर भएको पुष्टि गर्नुभएको हो,” संरक्षण अधिकृत बरालले भने, “विदेशी चराविद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपले पनि यो चरा नेपालका लागि नयाँ भएको प्रमाणित गर्नुभएको छ ।”

केकीघाङमा नयाँ प्रजातिको चरा देखेर तस्बिर खिचेको तीन दिनपछि पनि ती चरा त्यही भेटिएको कर्मचारी गुरुङले बताए । “लोमान्थाङदेखि करिब ८०० मिटर पूर्व खेतको पर्खालमा पहिलो पटक दिउँसो १.११ बजे सो चराको तस्बिर खिचेको थिएँ,” उनले भए “दोस्रो पटक पिपलको रुखमा बसेका बेला बिहान १० बजे तस्बिर खिचेको थिएँ ।”

नयाँ चरा देखिएपछि संरक्षण अधिकृत बरालले थप पुष्टिका लागि चराविद्लाई पठाएका थिए । भँङ्गेराभन्दा केही ठूला इउरोपियन रोलरको पखेटा खैरो, खुट्टासँगैको भाग निलो र घाँटी तथा टाउकोमा खैरो र सेतो मिसिएको प्वाख हुन्छ । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला समेटिएको एक्यापभित्र यसअघि ५१८ प्रजातिका चरा भेटिएका थिए ।

स्वास्थ्य क्षेत्रमा काम गर्नुहुने गुरुङ चरामा पनि रुचि देखाउँछन्। जहाँ जाँदा पनि क्यामेरा लिएर हिँड्ने क्रममा नयाँ जातको चराको तस्बिर खिच्न सफल भएका उनी त्यसबखत छोजुङ गुम्बामा वैकल्पिक पदमार्ग अध्ययनका लागि स्थानीयवासीसँग जाँदै थिए । रासस

प्रकाशित मिति : २०७८, ५ आश्विन मंगलबार ००:००  ५ : ३० बजे