जनकपुरधाम । प्रदेश २ की सांसद प्रमिला यादवले आफ्ना पति अशोक यादवले चढ्दै आएका मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी छन् ।
प्रदेश सांसद यादवले स्वकीय सचिव समेत रहेका अशोक यादवले चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् ।
प्रमिला नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् । उक्त निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेपनि कार्यालयले भने कर छुट गर्न नमिल्ने जनाएको छ ।
सांसद यादवले भने मोटरसाइकलको कर छुट गरिदिन आफूले पत्र नलेखेको दावी गरेकी छन् ।
उनले अनलाइनसरोकार डटकमसँग भनिन ‘३-४ हजार रूपैयाँका लागि यस्तो घटिया काम किन गर्छु ? मेरो श्रीमान्ले आफैं करवापतको रकम तिर्नुभएको छ ।’
‘१५ दिन अगाडी श्रीमान् मोटरसाइकलको कर र इन्स्योरेन्स गराउन लहान यातायात कार्यालय पुग्नुभएको थियो,’ उनले भनिन्, ‘त्यो दिन इन्स्योरेन्स गराउनुभयो । कर पनि तिरिसक्नुभएको छ ।’












