ओखलढुंगा । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले प्रस्तावित नगरप्रमुख इच्छाकुमारी गुरुङलाई जितको शुभकामना दिएका छन् । उपप्रमुखको भूमिमकामा ५ वर्ष काम गरेकी गुरुङलाई नेकपा एमालेले प्रमुखमा अघि सारेपछि वर्तमान नगरप्रमुख श्रेष्ठले जितको शुभकामना दिएर नगरपालिकाबाट विदाई गरेका हुन् ।
पुनःउमेद्वारी दिन जनप्रतिनिधिले राजिनामा दिनुपर्ने व्यवस्था अनुसार उपप्रमुख सहित ३ वडाअध्यक्ष र केही सदस्यहरुले पदबाट राजिनामा दिएका छन् । राजिनामा दिएर पुनः निर्वाचनमा उमेद्वारी दिन लागेका जनप्रतिनिधिलाई नगरपालिकाले फेरि भेटौंला कार्यक्रम राखेको थियो ।
फेरि भेटौंला कार्यक्रममा नगरप्रमुख मोहन श्रेष्ठले वितेको ५ वर्षमा सिद्धिचरण नगरपालिकाको समृद्धि र विकासका लागि महत्वपूर्ण कामहरुको थालनी भएको बताउँदै भए गरेका कामलाई संस्थागत गर्दै समृद्ध नगर निर्माणका लागि चुनाव जितेर आएर काम गर्न प्रस्तावित मेयर गुरुङलाई शुभकामना दिएका हुन् ।
एमालेका पूर्व जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश कमिटी सदस्य समेत रहेका श्रेष्ठले एमालेका उमेद्वारलाई विजयी गराउन र सिद्धिचरण समृद्धिका लागि भएका प्रयासमा हात्तेमालो गरेर आफुले सक्दो सहयोग गर्ने बताएका छन् ।
श्रेष्ठ र गुरुङ दुवैले २०७४ को निर्वाचनमा नेकपा एमालेबाट चुनाव जितेका थिए ।












