२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुरवासी भन्छन्, ‘पानीको साह्रै दुःख भो, भोट माग्नेहरू नमस्कार गरेर मात्र गए’




चम्पादेवी तथा भष्मासुर पहाडमा रहेका जङ्गल अगाडि छ कीर्तिपुर सहर । सहरमाथिका यी पहाड पानीका लागि प्राकृतिक श्रोत हुन् । तर कीर्तिपुरवासीले पानीको दुःख झेलिरहेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेताहरू घर घरमा भोट माग्न आए पनि उनीहरुले पानीको तिर्खा मेट्ने वाचा नगरेको स्थानीयको गुनासो छ ।

कीर्तिपुर लायकुकी बासिन्दा विमला प्रधानले खानेपानीको दुःख रहेको सुनाइन् । भोट माग्न नमस्कार गर्दै आउने तर कुनै काम नगर्ने भएकोले यो पटक आफूलाई कुनै दललाई पनि भोट दिन मन नलागेको उनले सुनाइन् । प्रधानले रातोपाटीसँग भनिन्–‘यहाँ पानीको समस्या छ । कहिलेकाहीँ त ड्रममा भरेर राख्न पुग्ने पानी पनि आउँदैन । एकदिन आउँछ त्यसपछि बन्द भइहाल्छ ।’

अचेल भोट माग्न आउनेहरूले पनि यो काम गर्छु त्यो काम गर्छु भन्ने नगरेको । नमस्कार गर्दै भोट आउने गरेको उनले बताइन् । उनले भनिन्–‘नेताहरूलाई पानी ल्याइदिनुपर्‍यो भनेको पनि हो । पानी नै छैन भन्छन् । उनीहरूलाई भोट दिए जिताउनु मात्र हो । यसपालि छ भोट हाल्न पनि मन छैन ।’

कीर्तिपुर नयाँ बजारमा कपडा सिलाइको पसल सञ्चालन गरिरहेका दिपु परियार र शान्ति परियारले पनि पानीको दुःख रहेको र फोहोर मैला व्यवस्थापनमा समस्या रहेको सुनाए । दिपु परियारले भने–‘कतै पानी आउँछ कतै आँउदैन । यहाँको मुख्य समस्या भनेको पानी र फोहोर मैला व्यवस्थापनको हो । त्यो समस्या पूरा गर्ने जनप्रतिनिधि आए राम्रो हुन्थ्यो ।’

हरेक चिजको भाउ बढी रहेकोले मानिसलाई काम नभएकोले रोजगारीको व्यवस्था गर्नुपर्ने शान्ति परियारले बताइन् । उनले भनिन्–‘काम गर्न चाहनेलाई नगरपालिकाले कामको व्यवस्था गर्नुपर्‍यो । महिलाका लागि तालिमको व्यवस्था गरे हुन्थ्यो ।’

उनले महिलासम्बन्धी तालिम तथा आय आर्जनका कार्यक्रममा नगरपालिकाले नबोलाउने गरेको उनले बताइन् । जनतालाई रोजगारीको व्यवस्था गर्न, सुविधाहरू दिने तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।

कीर्तिपुर वडा नम्बर १ देपुखुःमा भेटिएका नारायण महर्जनले पनि पानीको समस्या रहेको बताए । उनले भने–‘यहाँ पानीको एकदम समस्या छ । पानीको स्रोत छ तर सबैलाई पुगेको छैन । बाटोमा धुलै धुलो छ । आज सडक पिच गर्छ भोलि भत्काउँछ जनतालाई सुविधा छैन ।’

यस्तै स्थानीय कबीर श्रेष्ठले पनि कीर्तिपुरवासीको मुख्य समस्या पानीको रहेको र विगतदेखि नै पानीको माग गरिरहेको बताए । पहिलेका स्थानीय जनप्रतिनिधिले पानीको समस्या समाधान गर्न नसकेको र ढल निकासको समस्या रहेको पनि उनको भनाई छ । कृष्णबहादुर महर्जनले नेताहरूले विकासमा राम्रो काम गरे हुन्थ्यो भने अपेक्षा गरे ।

कीर्तिपुर बजारमा पानीको अभाव रहेको दृश्य त्यहाँको बाटोमा पनि देखिन्थ्यो । महिलाहरू टाढाबाट पिठ्युँमा पानी बोकेर हिँडिरहेका थिए । कीर्तिपुर बासीले पानीको समस्या समाधान गर्नका लागि अब निर्वाचित हुने जनप्रतिनिधिसँग माग गरेका छन् ।

यस्ता छ स्थानीय चुनावका लागि कीर्तिपुरका उम्मेदवार

कीर्तिपुर नगरपालिकामा प्रमुखमा एमालेका तर्फबाट केश रत्न बज्राचार्य, उपमेयरमा विन्दु महर्जन उम्मेदवार हरेका छन् । काँग्रेसबाट प्रमुखका लागि राजकुमार नकर्मी, उपप्रमुखका लागि जनता समाजवादीबाट सुनिता शाक्य उम्मेदवार रहेकी छिन् । उनले रुख चिन्हबाटै चुनाव लड्ने भएकी छिन् ।

यस्तै माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक डा।शिर शरण महर्जनलाई प्रमुख पदका लागि उम्मेदवार बनाएको छ भने उपप्रमुखमा सुशीला बस्नेतलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले वटुकृष्ण थापालाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपमेयरमा कमला महर्जनलाई उम्मेदवार बनाएको छ । यस्तै नेपाल मजदुर किसान पार्टीले श्रीकृष्ण महर्जनलाई प्रमुखको उम्मेदवार बनाएको छ भने सर्जु महर्जनलाई उपमेयरको उम्मेदवार बनाएको छ । राप्रपाले जित बहादुर विष्टलाई प्रमुख र सम्झना पौडेललाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी बनेको थियो । प्रमुखमा रमेश महर्जनले ७ हजार ३६० मत ल्याएर निर्वाचित भएका थिए भने उपप्रमुखमा सरस्वती रिजालले ६ हजार ८१० मत ल्याएकी थिइन् ।

प्रकाशित मिति : २०७९, २६ बैशाख सोमबार ००:००  १२ : ०४ बजे