ओखलढुङ्गा। चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५ सय ७ मतले पछिपार्दै शर्मा अध्यक्षमा पुन: विजयी भएका हुन् ।
शर्माले तीन हजार एक सय ९८ मत प्राप्त गरेका छन् भने थापाले दुई हजार छ सय ९१ मत पाएका छन् ।
२०७४ को स्थानिय तहको निर्वाचनमा शर्मा ३ मतले अध्यक्षमा निर्वाचित भएका थिए ।
गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिशङ्खुगढी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई एक हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन् ।
थापाले तीन हजार एक सय १६ र राईले दुईहजार ५० मत प्राप्त गरेका छन् ।
चिशङ्खुगढी गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्र विच गठबन्धन भएको थियो ।
पालिकाको आठ वडा मध्ये चार वडामा माओवादी केन्द्रले जितेको छ । वडा नं.१ उषक कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र वडा नं.४ हिमाल राईले माओवादी केन्द्रबाट विजयी भएका हुन् ।
यसैगरी वडा नं. ६ मा र ७ मा नेपाली काँग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी भएका छन् । वडा नं. ८ मा नेकपा एमालेका उम्मेदवार शुसिलजङ कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नं.३ मा वडा अध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछी पुन:मत गणना गरिएको छ ।
अन्य पालिकाहरुको मत गणना भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लाको चम्पादेवी, मोलुङ र खिजिदेम्बा गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ ।












