२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक अर्ब ५६ करोडमा बनिरहेको भ्युटावरलाई अस्पताल बनाउन माग



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा एक अर्ब ५६ करोड रूपैयाँको लगानीमा निर्माणधीन भ्युटावरको संरचनालाई मेडिकल कलेजसहित प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्नुपर्ने माग नेकपा माओवादी केन्द्रले गरेको छ।

दमक नगरपालिकाका प्रमुख राम थापालाई माओवादी केन्द्रको स्थानीय कमिटीले बिहीबार ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।

आम सर्वसाधारण उचित स्वास्थ्य र शिक्षा नपाएर विदेशिनु पर्ने बाध्यकारी अवस्था अन्त्यका लागि दमकको भ्युटावरलाई अविलम्ब मेडिकल कलेज र प्रादेशिक अस्पतालको रूपमा विकास गर्न उनीहरूले माग गरेका हुन्।

माओवादीले बुझाएको ज्ञापनपत्रमा दमकमा मात्र उठाउँदै आइएको सवारी पटके कर हटाउन पनि माग गरिएको छ। जिल्लाभर कहीँ नभएको सवारी कर हटाउने भनेर निर्वाचनताका गरिएको बाचा तत्काल पूरा गर्न उनीहरूले माग गरेका हुन्।

नगर प्रमुखका गठबन्धनका उम्मेदवार राम थापाले मतदातासँग मत माग्दा दमकको सवारी कर निर्वाचित भएको एक सातामै हटाउने घोषणा गरेका थिए।

पार्टीका नगर इन्चार्ज बेदु गौतमले भने,निर्वाचनताका मतदातासामु गरेका बाचा त पूरा गर्नुपर्छ नि।

१९ वटा बुँदामा रहेको ज्ञापनपत्रमा भूमिहीन तथा सुकुम्बासीको समस्या तत्काल समाधन गर्नुपर्ने, निःशुल्क खानेपानी वितरण गर्नुपर्ने, सरसफाइ कर हटाउनु पर्ने, दमक सामुदायिक भवनलाई निर्माणपूर्व भएको सम्झौताअनुसार फाल्गुनन्द सामुदायिक भवन नामकरण गरिनुपर्ने लगायत माग गरिएको नगर अध्यक्ष रवि बस्नेतले सेतोपाटीलाई जानकारी दिए।

नगर प्रमुख थापाले नेकपा माओवादी केन्द्रले पालिका आएर आफूलाई ज्ञापनपत्र बुझाएको बताएका छन्।

सबै माग नाजायज छैनन्। निर्वाचनअघि गरेका घोषणा र प्रतिबद्धता संघ, प्रदेश र नगरको नियमावली र ऐनमा टेकेर नगरबासीका पक्षमा हुने छन् उनले भने।

प्रकाशित मिति : २०७९, २७ जेठ शुक्रबार ००:००  ११ : ११ बजे