२०८२, ५ जेठ आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेमिका छटपटाउँदै अस्पतालमा, जलाउने प्रेमी निस्फिक्री घुम्दै



काठमाडौं। शरीरभरि करेन्ट लगाएर मरणासन्न बनाइएकी कुनै पनि पीडितले तुरुन्तै न्याय पाउनुपर्ने हो । तर प्रहरीले जाहेरीको पर्खाइमा रहेको भन्दै पीडकलाई गिरफ्तार गर्न आलटाल गरेपछि न्यायको आशा मर्दै गएको छ । घटना अनुसार १८ महिना अघि सिन्धुलीकी राधिका कार्कीले सामाजिक सञ्जालमार्फत धनुषाको महेन्द्रनगर बस्ने अरुण साहसँग प्रेमविवाह गरेकी थिइन् । जनकपुरधाममा डेरा गरी दुवै जना सँगै बस्थे ।

तर विवाहको करिब तीन महिनापछि आर्थिक अभाव देखाउँदै राधिकालाई डेरामा एक्लै छाडे, उनको आउजाउ पातलियो । राधिकाले अरुणलाई कानुनी विवाह गरी घर लग्न दबाब दिन थालिन् । यस क्रममा मनमुटाव भई करिब अढाई साता अघि जनकपुरधामस्थित डेरामा राधिकालाई अरुणले करेन्ट लगाई हत्या प्रयास गरे ।

छिमेकीहरुले होहल्ला गरेपछि प्रहरीले अचेत भएकी राधिकालाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गर्‍यो । भर्ना भएको करिब डेढ सातासम्म राधिका अचेत अवस्थामा थिइन् । अहिले उनी मधुरो स्वरमा बोल्न सक्छिन् । तर प्रहरीले भने अहिलेसम्म यस घटनालाई गम्भीरतापूर्वक लिएको छैन ।

धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जाहेरी परेपछि मात्रै अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढ्ने बताउँछन् । उनले जाहेरी नपरेसम्म कानुनी प्रक्रिया अगाडि बढाउन समस्या रहेको भन्दै पन्छिए ।

प्रादेशिक अस्पताल जनकपुरको बर्न वार्डको १३५ नम्बर बेडमा उपचाररत छिन् राधिका । उनको दुवै हातखुट्टा, तिघ्रा, पेट र शरीरका विभिन्न अंगमा करेन्ट लगाइएको छ । उनको शरीरको १० प्रतिशत अंग जलेको डाक्टर आश्विनी कुमार यादवले जानकारी दिए । उनका अनुसार उनको हात र खुट्टाको केही औलाले काम अहिलेसम्म नगरिरहेकाले केही दिनसम्ममा रक्त सञ्चार नभएमा सम्बन्धित चिकित्सकको सल्लाहअनुसार उनको करिब आधा दर्जन औँला काट्नुपर्ने अवस्था आउन सक्छ ।

करिब अढाई सातासम्म बेवारिसे बनेकी राधिकालाई बर्न भाइलेन्स सरभाइभर नेपालकी फिल्ड अफिसर सिया सहेली साहले औषधोपचार र खानपानको बन्दोबस्त मिलाएकी छन् ।

पीडित राधिकाले आफूसँग खेलबाड गरेको भन्दै कारबाहीको माग गरेकी छिन् । सिन्धुलीको गोलान्चोर गाउँपालिका–२ की २२ वर्षीय राधिकाको चिनजान १८ महिना अघि अरुणसँग पहिलो भेटघाट सिन्धुलीको खुर्कोट बजारमा भएको थियो । विवाह गर्ने योजनाअनुसार राधिका घरबाट भागेर आठ महिना अघि जनकपुर आएकी थिइन् । उनलाई सुरु सुरुमा खान बस्न र पैसा समेत दिइन्थ्यो । आर्थिक अभाव हुँदै गएपछि राधिका जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा काम गर्न थालिन् । आफूलाई घर लान अनुरोध गर्नु नै राधिकाको लागि दुर्भाग्य बन्यो ।

धनुषा प्रहरीले पीडित राधिकाको सिन्धुलीस्थित घरमा फोन गरेर जानकारी गराएको छ । तर गाउँबाट केही छिमेकीहरू हालखबर बुझ्न आए पनि उनको अभिभावक, आफन्तजन सम्पर्कविहीन छन् । यता करेन्ट लगाएर हत्या प्रयास गरेको घटना भएको करिब अढाई साता वित्दा पनि जिल्ला प्रहरी कार्यालय धनुषाले भने अहिलेसम्म पीडकलाई कुनै कारबाही गरेको छैन । राधिकाको तर्फबाट उनको अभिभावक वा अन्य कुनै पनि संघसंस्थाले जाहेरी नदिएसम्म कारबाही प्रक्रिया अघि नबढ्ने भएको छ ।

प्रकाशित मिति : २०७९, ६ असार सोमबार ००:००  ११ : ०४ बजे