२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार पन्ध्र: किन खानुपर्छ दहि चिउरा ?



काठमाडौं । आज असार पन्ध्र अर्थात् दहि चिउरा खाने दिन । असारलाई धान दिवस मात्र भन्दैनौं आजको दिन दहि चिउरा खाएर मनाउछौं । नेपाल आफैमा बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र हो । त्यसैले हाम्रो रहनसहन अनि खानपान पनि मौसम र समय अनुसार नै परिवर्तन हुन्छ ।

आज खाने दहि चिउराको पनि आफ्नै विशेषता छ । चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ।

गर्मीमा धान रोप्दा पसिनाको माध्यमबाट जाने पानीलाई समेत यसले परिपूर्ति गर्ने भएकाले दहीचिउरा खाने चलन बसाएको हुनुपर्छ हाम्रा पुर्खाहरुले। दहीचिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ।

दहीचिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।

दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ। चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ।

धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ नेपाली खाना चिउराको ठूलो महत्व छ। चिउरालाई चोखो खाद्यपदार्थका रुपमा पनि लिइन्छ।

हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ। चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ। यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं।

दहीले चिसो लाग्ने भएकाले राति सुत्ने बेलामा खानु हुँदैन भन्ने मान्यता छ। तर, ठिक्कको तापक्रममा राखिएको दही जुन समयमा खाए पनि केही फरक पर्दैन। दही फ्रिजबाट निकालिएको भएमा चाहिँ चिसो लाग्न सक्छ। दहीले कहिल्यै बिरामी पार्दैन, यदि कुनै हानिकारक किटाणुले यसमा प्रवेश पाएका छैनन् भने।

मधुमेह भएका बिरामीहरुले चिनी मिसाएको दही खानु हुँदैन। बजारको दहीमा मिठो बनाउन चिनी हाल्ने प्रचलन छ। त्यसैले सकेसम्म आफ्नो घरमा बनाएको दहीमा चिउरा मिसाएर खाँदा राम्रो। दैनिक खानामा एक कचौरा दही खाँदा स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ।

प्रकाशित मिति : २०७९, १५ असार बुधबार ००:००  १२ : २२ बजे