उदयपुर। विगत दुई दिनदेखिको अविरल वर्षाले प्रदेश १ मा बितन्डा मच्चाएको छ। प्रदेश १ का तराई क्षेत्रमा डुबान र नदी कटानको समस्या देखिएको छ भने पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्याएको छ।
विशेष गरी प्रदेश १ का ४ जिल्लामा बाढी र पहिरोले धेरै क्षति गरेको छ। प्रदेश १ को झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा बाढी, डुबान, नदीकटान र पहिरोले क्षति पुर्याएको छ। सोमबार रातिदेखिको अविरल वर्षा अझै पनि नरोकिएका कारण बाढीपहिरोले क्षति गर्ने क्रम अझै पनि जारी रहेको छ। मोरङका विभिन्न खोलामा आएको बाढी बस्तीमा पस्दा १ हजार बढी घर डुबानमा परेका छन्।
यस्तै ४ हजार बढी मानिस विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। तर, पानी कम भएसँगै धेरै मानिसहरू घर फर्किसकेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। बाढी र डुबानका कारण हाल ६ सय बढी परिवारका २ हजार ५ सय मानिसलाई मन्दिर, धर्मशाला र विद्यालयलगायत सुरक्षित स्थानमा उद्धार गरेर राखिएको छ। उनले भने, ‘पानी कम भएसँगै विस्थापित भएकाहरू घर फर्किसकेको भए पनि घर फर्किने अवस्था नभएका ६ सय बढी परिवारका करिब २ हजार ५ सय मानिसलाई विद्यालय, मन्दिर, धर्मशालालगायत स्थानमा राखिएको छ।’
हालसम्म मोरङमा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ। दाहालका अनुसार मंगलबारको तुलनामा बुधबार केही कम पानी परेका कारण राहत र उद्धारको काम सहज भएको छ। विशेष गरी खोला छेउका बस्तीहरूमा बाढी पसेर धेरै क्षति पुर्याएको उनले जानकारी दिए। मोरङको सिंगिया र केशलिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाको १, २, ४, ६, ७, १२, १६ र १९ नम्बर वडाका बासिन्दा प्रभावित भएका छन्।