२०८२, ६ भाद्र शुक्रबार | Fri Aug 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी



काठमाडौँ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ ।

वैदेशिक रोजागर विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो।

आव २०७८/७९ मा उजुरीबापत ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ दाबी गरेकामा आव २०७७र७८ मा एक अर्ब ३१ करोड ४५ लाख ९५ हजार रुपियाँ माग दाबी गरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८र७९ मा उजुरीको सङ्ख्या धेरै भए पनि दाबी रकम भने कम रहेको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी दिए।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेर भनेर आउने उजुरी सबैभन्दा बढी संस्थागततर्फका भए पनि ठगीको रकम तुलना गर्दा व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । विभागका महानिर्देशक पौडेलले व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको बताए । व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उनले बताए ।

विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठूलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ ।

अदालतमा ८७ वटा मुद्दा दायर

विभागका अनुसार आव २०७८/७९ मा ८७ वटा मुद्दा अदालतमा दायर भएका छन्, जसमा व्यक्तिगत ठगीविरुद्धका ७६ रहेका छन् भने कन्सल्टेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका ११ वटा छन् । अदालतमा दायर भएका मुद्दामा २२ करोड ६८ लाख ९४ हजार बिगो रकम माग दाबी भएको विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा विभागमा आएका एक हजार ७४२ उजुरीमध्ये ४१५ वटा मिलापत्र गराइएको छ । सोही अवधिमा मिलापत्रबाट ३१ करोड ७९ लाख १९ हजार रुपियाँ पीडकबाट पीडितलाई भराइएको छ ।

विभागमै उजुरी गर्नुपर्ने बाध्यता

वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाको उजुरी लिने र मिलापत्र गराउने अधिकार जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि छ तर यस्ता ठगीका उजुरीको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने, जरिवाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै छ ।

वैदेशिक रोजगारीका अधिकांश उजुरी जरिवाना गर्नुपर्ने र मुद्दा दायर गर्नुपर्ने हुने गरेको वरिष्ठ अधिवक्ता सोम लामिछानेले बताए। उनले वैदेशिक रोजगारीमा हुने ठगीविरुद्ध उजुरी दिन केन्द्रमा रहेका विभागमै आउनुपर्ने बाध्यता भएकाले यसको अन्त्य गर्न विभागको सम्पूर्ण अधिकार जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई हुनेगरी कानुनी व्यवस्थाको आवश्यकता औँल्याए ।

-गोरखापत्र

प्रकाशित मिति : २०७९, १५ श्रावण आइतबार ००:००  १२ : १० बजे