धनकुटा । महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले पालिकाको सबै वडाहरूमा कृषि पकेट क्षेत्र निर्माण गर्ने घोषणा गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम स्थानीय जनसरोकारमा बोल्दै रायाले सो कुरा बताएका हुन । उनले वडाको उत्पादन सिधै बजारमा बेच्नेको लागि नगरले योजना बनाएको समेत जानकारी दिए ।
उनले भने “कृषि क्षेत्रमा धेरै बिचौलिया भए , त्यसैले कृषकको उत्पादनको भण्डारण गर्नका लागि चिस्यान केन्द्रको स्थापना गर्ने योजना छ” । उनले विगतमा भएका कार्यक्रममा राजनीतिकरण भएका कारण आफ्नो कार्यकालमा त्यो नदोहोरिने बताए । कृषिमा समृद्ध नगर बनाउने आफूले लक्ष्य लिएको उनको भनाइ छ ।
विगतमा आफू वडाको कार्यकाल सम्हाल्दा आफूले सोचे अनुरूप काम हुन न सकेको समेत उनले उल्लेख गरे ।
महालक्ष्मी नगरपालिकाले ७२ करोड रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ ।
संघीय सरकार मार्फत ६७ करोड ४९ लाख ७१ हजार प्रदेशबाट २ करोड ९६ लाख ९९ हजार ४३० र स्थानीय सरकारको १ करोड ७० लाख रुपैयाँ गरि कुल ७२१६७०४३० रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको हो । जसमा समानीकरण अनुदान तर्फ ११ करोड ४८ लाख २८ हजार रुपैयाँ, ससर्त अनुदान तर्फ ३१ करोड ३९ लाख ५३ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।