२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसरी जोगिने बाढी-पहिरोबाट : जानी राखौं उपाय



काठमाडौँ।  हरेक वर्ष वर्षातको समयमा बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको छ। मौसमी प्रकोप रोकथाम तथा नियन्त्रणमा सरकारी योजना सफल नहुँदा वर्षैपिच्छे मानवीय र भौतिक क्षति हुने क्रम रोकिएको छैन। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहाडमा पहिरो तथा तराईमा बाढी र डुबानको प्रमुख समस्या छ। तराईमा बाढी र डुबान रोकथाम तथा नियन्त्रण र पहाडमा पहिरो, नदी तथा खोलाको तटीय क्षेत्रको बस्ती व्यवस्थापन र विस्थापनमा सरकारी पहलको आवश्यकता छ। बढ्दो जनसंख्या, सडक आदि पूर्वाधार विकासका कारण पनि बाढी तथा डुबानजन्य समस्या बढेका छन्।

 राज्यका सबै संरचना उत्तिकै सबल भइदिएको भए यो जनधनको क्षति निकै कम हुनसक्छ। प्राकृतिक प्रकोपलाई रोक्न नसकिए पनि त्यसबाट सिर्जित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ। त्यसतर्फ राज्यको ध्यान पुगेको देखिँदैन।

बाढी पहिरोको बेला के कुरामा ध्यान दिने त ?

  • बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुन्न। होचो भूभागमा आवतजावत गर्न हुन्न।
  • गाउँ र बस्तीमा बाढी आयो भने उच्चो भूभागमा जानुपर्छ।
  • समूहमा बस्नुपर्छ।
  • उच्चो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्न सकिन्छ। छतमा पनि बस्न सक्ने अवस्था भएन भने बाहिरबाट गएका उद्धार टोलीलाई आफ्नो समस्या भन्नुपर्छ।
  • बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने थाहा पाउन सकिन्छ।
  • जल तथा मौसम पूर्वानुमान विभागले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ। सम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्छ।
  • सञ्चार माध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनपर्छ।
  • सूचना अनुसार सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ।
  • झरी पर्न थालेपछि कुन खोलामा कहिले बाढी आउँछ भन्ने बाढी पूर्वानुमान शाखाले अनुमान गर्छ र त्यही अनुसार सतर्क रहन सम्बन्धित जिल्लाका नागरिकलाई अपिल गर्छ। तर पहिरो कति बेला आउँछ भन्ने पहिले नै थाहा हुँदैन। तर पहिरोबाट पनि जोगिने उपाय भने छन्।
  • ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ।
  • पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने सम्भावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ।
  • आवतजावत कम गर्नुपर्छ।
  • घर भत्किएर जनधनको क्षति हुने भएकाले घर बाहिर निस्किएर बस्नुपर्छ।
  • ठूलो पानी परिरहे जाग्राम बस्नुपर्छ।

प्रकाशित मिति : २०७९, १८ श्रावण बुधबार ००:००  १ : ३४ बजे