काठमाडौ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो ।
नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थालेपछि नगरपालिका कार्यालय अगाडि फोहोर थुप्रिएको छ । सम्पदा क्षेत्रको रुपमा रहेको पाटी विहार, नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिको कार्यालयसँगै तीन सातादेखि फोहोरको डङ्गुर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ ।
एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्कोतर्फ भुस्याहा कुकुरले फोहोरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपस्ट गर्दा पैदल हिँड्नेले समेत सास्ती भोग्नुपरेको छ ।