काठमाडौं । सरकारले आगामी मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेसँगै उम्मेदवारहरू आ–आफ्नो तयारीमा जुटेका छन् । समग्रमा देशमा चुनावी माहोल बनेको छ ।
निर्वाचनको सरगर्मी बढेसँगै मंसिर ४ गते हुने प्रतिनिधि सभाको निवार्चनमा चितवन क्षेत्र नं. १ बाट हरि ढकालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन ।
पुँजी बजारको क्षेत्रमा लामो समय देखि आन्दोलन गर्दै आएका ढकाले पुँजी बजार मात्रै हैन समग्र देशको अर्थतन्त्र नै सुधार गर्नु पर्ने भएकाले आसन्न निवार्चनमा भाग लिनुको विकल्प नभएको बताएका छन् ।
देश र जनताको भविष्य खोज्दै ,अर्थतन्त्रको मेरुदण्ड शेयर बजारमा नीतिगत भ्रष्टाचारको विरुद्धमा लड्दै समग्रमा राजनैतिक बेथिती, सुधारोन्मुख अर्थतन्त्रका पक्षलाई मुख्य एजेन्डा बनाएर राजनैतिक यात्रा सुरु गरेको ढकालको भनाई छ ।
उनले संघीयता खारेजी, पूर्वी चितवनको पर्यटन नगरी सौराहा लगायतका स्थानहरूको पुनःउत्थान, गृहनगर हरित चितवन बनाउने एजेण्डा बोकी निर्वाचनको तयारी गरेको बताएका छन् ।
ढकाल सेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष समेत रहेका छन । स्मरण रहोस् चितवन क्षेत्र नं १ एमाले सांसद सुरेन्द्र पाण्डेको क्षेत्र हो ।