बुटवल । लुम्बिनी प्रदेश सरकारले गत एक वर्षको अवधिमा २०२ किलोमिटर सडक कालोपत्रे गरेको छ भने २७५ किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ ।
प्रदेश योजना आयोगले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि एक वर्षको अवधिमा प्रदेश सरकारले गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको हो ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले बजेट ढिला आएपनि प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८ र ०७९ मा ७०। ७७ प्रतिशत बजेट खर्च गर्न सफल भएको जानकारी गराए ।
आर्थिक वर्ष २०७८ र ०७९ मा प्रदेश सरकारले ४० वटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल निर्माण गर्नुका साथै १२१ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको उपाध्यक्ष क्षेत्रीले बताए ।
त्यस्तै प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको पूर्वी पाल्पाको रामपुर देखि रोल्पाको जिनाबाङ सडकको ८० प्रतिशत काम सम्पन्न भएको बताउँदै उनले लुम्बिनी प्रदेश बैंक सञ्चालनका लागि प्रक्रिया धेरै अगाडि बढेको जानकारी दिए ।
भौतिक पूर्वाधार तर्फनै ११७ कभर्डहल निर्माण, २० किलोमिटर सडक ढलान गरेको प्रदेश योजना आयोगले जनाएको छ ।
शिक्षा तर्फ लुम्बिनी प्राविधिक विश्व विद्यालय स्थापना गरि उपकुलपतिको नियुक्ति गरेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
त्यस्तै १७५ जना द्वन्द्व पीडितलाई तालिम दिई रोजगारमूलक बनाएको र ८३ जना द्वन्द्व पीडितको उपचार गरेको योजना आयोगले जनाएको छ ।
प्रहरी प्रदेश मातहत आइनसके पनि प्रदेश सरकारले प्रहरीका ११ वटा भवन निर्माण प्रक्रियामा रहेको जानकारी गराउँदै उपाध्यक्ष क्षेत्रीले प्रहरीलाई १६ थान मोटरसाइकल हस्तान्तरण गर्नुका साथै प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ र बुटवलमा सिसिटिभी जडान गरेको बताए ।