महोतरी । नेपाल(भारतका सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरुले निर्णय गरेका छन् ।
शनिबार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा सीमावर्ती क्षेत्रमा हुने हत्या हिंसा, लागुऔषध कारोबार, तस्करी तथा दशगजामा रहेका जीर्ण तथा भत्केका सीमा स्तम्भहरूको पुनर्निर्माण गर्ने विषयमा छलफल भएको छ । बैठकमा सहभागि धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार वर्षायाममा बाढीले सीमा वरिपरिका गाउँहरुमा हुने क्षतिको विषयमा बैठकमा छलफल भएको थियो ।
बैठकको नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए भने भारतीय पक्षको नेतृत्व मधुबन्नीका डी एम अरविन्द कुमार बर्माले गरेका थिए ।
बैठकमा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता थियो । त्यसैगरि, भारतीय पक्षबाट मधुबन्नी जिल्लाका प्रहरी प्रमुख तथा अन्य सरकारी निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।