२०८२, ३१ असार मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनः निर्माण हुदै पच्चीस वर्ष पुरानो शौचालयहरु



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं –२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको छ ।

का.म.पा–२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा स्तरोन्नति गरिएको सो शौचालय अपाङ्ग, वातावरण तथा महिला मैत्री छन् । पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन् । कामपा–२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले शनिबार नवनिर्मित शौचालयको शुभारम्भ गरे ।

का.म.पा का प्रमुख बालेन्द्र शाहले सो सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचालयमा प्रयोग भएका वातावरण मैत्री प्रविधिका बारेमा विशेष चासो राखे । उनले भने “ सार्वजानिक शौचालय हुनु त यस्तो व्यवस्थित । महानगरपालिकाभित्र थप यस्ता शौचालय बनाउनुपर्छ । यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ । ” शौचालयमा प्रयोग भएको आकाशे पानी सङ्कलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिँदै शौचालयलाई सिकाइ केन्द्रका रुपमा विकास गर्न सकिने सुझाव दिए ।

वडाध्यक्ष मानन्धरले वडाको विकास र समृद्धिका लागि आवश्यक कार्य गर्दै आएको जानकारी दिँदै यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माण गरिएको बताए ।

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौँ महानगरपालिकामा चार र ललितपुर महानगरपालिकामा दुई अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ । यस बीचमा करिब पाँच लाख ९१ हजार दुई सय ६९ पुरुष र एक लाख ८० हजार पाँच सय ३६ महिला प्रयोगकर्ताहरुलाई सार्वजनिक शौचालयको सुविधा प्रदान गर्न सफल भएको एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७९, २२ श्रावण आइतबार ००:००  ११ : ०४ बजे