काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र थापाथलीस्थित नर्भिक इन्टरनेसनलका कर्मचारीबीच चर्काचर्की भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आज भत्काउने तयारीबीच बालेन शाह अस्पताल पुगेका थिए ।
बालेनले अस्पताल प्रशासनलाई उक्त टहराबाट सामान हटाउन आग्रह गर्दा कर्मचारी आक्रोशित भएका हुन् ।
महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना खाली गर्नका लागि २४ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो ।
अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ ।
तर, अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखेको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएको छ ।