२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तीन महीना कैद



सप्तरी । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले एक शिक्षकलाई कैद सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुंगा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक पशुपतिकुमार यादवलाई कैद सजाय सुनाएको हो। बोदे बसाइन नगरपालिका–१० का ४० वर्षीय यादवलाई तीन महीना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ।

१४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै अदालतले २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए।

अर्का आरोपित शिक्षक सिरहाको लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादवले सफाइ पाएका छन्। दुवै जनाले यौन दुर्व्यवहार गरेको भन्दै छात्राले इलाका प्रहरी कार्यालय, कडरबोनामा २०७५ जेठ २६ गते उजुरी दिएकी थिइन्। इलाका प्रहरी कार्यालय, कडरबोनाले २०७५ जेठ २७ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरी पशुपतिलाई पक्राउ गरेको थियो।

सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित पशुपति २०७५ असार २२ गते पुर्पक्षका लागि ६५ हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए। अदालतमा २०७६ जेठ २४ गते हाजिर भएका अर्का आरोपित रामकृष्ण पनि ६५ हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए।

प्रकाशित मिति : २०७९, २४ श्रावण मंगलबार ००:००  ३ : २६ बजे