नवलपरासी। पश्चिम नवलपरासीका किसानहरू नेपालमा रासायनिक मल नपाएपछि भारतबाट महँगो दरमा खरिद गर्न बाध्य भएका छन् ।
कृषि प्रधान देश भएपनि नेपाल सरकारले किसानहरूलाई मल, बिउबिजन उपलब्ध गराउन सकेको छैन । नेपालमा प्रत्येक वर्ष रासायनिक मल अभाव हुँदै आएको छ । नेपालमा मल नपाएकै कारण भारत पुगेर अवैधानिक रुपमा मल ल्याउन बाध्य भएको किसानहरूको गुनासो छ । खेतको बाटो प्रयोग गरी भारतबाट मल ल्याउँदा अभद्र व्यवहार गर्ने, पक्राउ गर्ने गरिएको स्थानीय किसानहरू बताउँछन् ।
सरकारले प्रत्येक वर्ष रासायनिक मलका लागि बजेट विनियोजन गरेको गरेपनि मल उपलब्ध गराउन सकेको छैन । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना नहुँदा प्रत्येक वर्ष किसानले मलको समस्या झेल्न बाध्य भएका छन् ।
पहाड र मधेशका कृषकहरूले खेतमा प्रयोग गर्ने मल, बिउ बिजन लगायतका सामग्रीहरू नेपालमा नपाएपछि बाध्य भएर भारत जानु परेको स्थानीय किसान बाबुलाल गुप्ता बताउँछन् । किसानको समस्यामा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार मौन बनेको पनि उनले बताए । आफ्नो देशमा मल उत्पादन हुन नसक्दा अर्को देशमा पुगेर ल्याउँदा महँगो पर्ने गरेको उनको भनाइ छ ।
नेपालमा ८ सय ५० रुपैयाँ पर्ने युरिया मल भारतबाट ल्याउँदा १३ सय रुपैयाँ परेको उनको गुनासो छ । यस्तै ५० प्रतिशत भन्दा बढी किसानले मल बिना नै रोपाइ गरेका स्थानीय किसान गुप्ताको भनाइ छ ।