२०८१, १८ पुस बिहीबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालाजुमा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति



काठमाडौँ । काठमाडौँ बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वर्ल्ड फुटवेयरमा आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो केहीबेर अगाडि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुको जुत्ता कारखानामा लागेको आगो सात वटा दमकल र १७ वटा पानीको ट्याङ्करको प्रयोग गरेर नियन्त्रणमा लिएको जानकारी दिए ।

विद्युत् ‘सर्ट’ भएर लागेको आगो झण्डै तीन घण्टापछि नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहितको एक सय ७५ जनाको टोली यस कार्यमा खटिएको प्रवक्ता मैनालीले बताए  ।

यस्तै, नेपाली सेनाको कालीध्वज गणबाट एक सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट ५० जनाको टोली खटिएको थियो । आगलागीमा करोडौँको सामान क्षति भएको प्रवक्ता मैनालीले जानकारी दिए  ।

घटनाका बारेमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९, २५ श्रावण बुधबार ००:००  ४ : १४ बजे