काठमाडौं । काठमाडौँ महानगरपालिका– ७ वडा कार्यालयको अगुवाइमा धोबीखोला कोरिडोर सडकखण्डको दायाँबायाँ वृक्षरोपण गरिएको छ । वडाध्यक्ष विमल कुमार होडाका अनुसार शनिबार विभिन्न जातका एक हजार एक सय बिस बिरुवा रोपिएको हो । प्राकृतिक हराभरा कायम गर्न तथा बढ्दो धुलोधुवाँ नियन्त्रण गर्न सघाउ पुऱ्याउने उद्देश्यले सडकपेटीको दायाँबायाँ वृक्षरोपण गरिएको उनले बताए ।
वृक्षरोपणमा कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाको समेत उपस्थिति रहेको थियो । सांसद थापाले काठमाडौँ क्षेत्रलाई थप हरियालीयुक्त बनाउन वृक्षरोपणले सहयोग पुग्ने बताए । उनले वातावरण स्वच्छ र हराभरा बनाउन वृक्षरोपण आवश्यक रहेको बताए ।
वडाका सल्लाहकार तथा विभिन्न स्वयंसेवी परिचालन गरेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष होडाले जानकारी दिए ।