काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज गोंगबु क्षेत्रको फोहोर उठाएको छ ।
करिव २ महिनादेखि थुप्रिएको फोहोर उठ्न नसकेपछि युवासंघले दबाब स्वरुप फोहोर उठाउन थालेको हो ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले साउन २९ गते संसदमा फोहोर उठाउन सरकारको हुती नभएको भन्दै काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)लाई आफ्नो पार्टीसँग सहकार्य गर्न आग्रह गरेका थिए । उनले आग्रह गरेको भोली पल्ट नै साउन ३० गते युवासंघले फोहोर उठाएको हो ।
युवासंघले साउन ३० गते बानेश्वरमा रहेको फोहोर उठाएको थियो । यस्तै, हिजो गौशाला क्षेत्रको फोहोर उठाएको थियो भने आज गोंगबु क्षेको फोहोर उठाएको हो ।
सरकारले ७५ दिनसम्म काठमाडौँमा फोहोर थुपारेर बसेको भन्दै युवासंघले ‘हाम्रो काम हामी आफै गर्नु पर्छ, आफ्नो क्षेत्र आफै सफा गर्नु पर्छ’ नाराका साथ फोहोर उठाउने काम गरिरहेको छ ।
काठमाडौँमा फोहोर नउठेको विषयमा धरानका मेयर हर्क सामपाङले कुरा उठाएपछि सामाजिक सञ्जालमा बालेनसँग दोहोरी नै चलेको थियो । महानगरले फोहोर फाल्ने स्थान बञ्चरेडाँडामा स्थानीयले अवरोध गर्दै आएका छन्।
बञ्चरे डाँडामा प्रहरी लगाएर फोहोर फाल्ने काम भइरहेको छ। स्थानीयहरु बल प्रयोग गरिएको भन्दै विरोध गरिरहेका छन् भने काठमाडौँ महानगरले बाध्य भएको बताएका छ ।












