२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै



काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।

यस्तै, भगवान श्रीकृष्णको बारेमा अनेक किस्सा छन् । १६ सय गोपिनीसँग प्रेमिल सम्बन्ध गाँस्ने श्रीकृष्णको अति गरिब सुदमासँग पनि घनिष्ठ मित्रता थियो । बिद्वताको कुरामा होस् वा रोमान्सको प्रसंगमा, श्रीकृष्ण एक कदम अघि थिए । उनको यो सप्तरंगी छवी अहिलेका पुस्ताका निम्ती आदर्श पनि हो ।

श्रीकृष्णको जन्म कंसको अन्त्य एवं खराब प्रवृत्तिको समाप्तीका लागि भएको मानिन्छ । नाताले कंस कृष्णका साख्खै मामा थिए । तर भान्जाको हातबाट आफ्नो मृत्यु हुन्छ भनेपछि कंशले बहिनी–ज्वाईलाई जेलमा थुनेका थिए । त्यही जेलमा कृष्णको जन्म भयो । र, उनका पिताले एकदमै सुरक्षात्मक र अनौठो ढंगले जेलबाट बाहिर निकाले । जबकी जेलमा सातवटा ढोका थियो भनिन्छ । र, हरेकमा सैनिक राखिएको थियो । जसै भगवान कृष्णको जन्म भयो, त्यही क्षण उनी समस्यामा परे । यद्यपी ती सबै समस्यासँग जुध्दै उनी हुर्कन्छन् । उनको जन्म तिथी, उनको स्वरुप, लिला सवै अर्थपूर्ण छ ।

श्रीकृष्ण किन कालो ?

अक्सर श्रीकृष्णलाई गाढा निलो रंगको देखाइन्छ । कृष्णको अर्थ नै कालो वा श्याम भन्ने हुन्छ । यसको खास अर्थ चाँहि साधकहरु आत्माचिन्तनमा प्रवेश गर्नका लागि उनीहरुले आफ्नो दृष्टि आफैभित्र फर्काउन आवश्यक हुन्छ । बाहिरी आँखा बन्द गर्नुपर्छ । बाहिरी आँखाले रंगिन संसार देखिन्छ, भित्री आँखाले सत्य । सत्यतर्फ र्फकदा सुरुवातमा अनुभूत हुने तत्व अन्धकार वा अध्याँरो हो । श्रीकृष्णको वर्ण कालो अर्थात निराकारमय छ । जब साधक आफैभित्र प्रवेश गर्छन्, उनीहरुले आफुभित्रको अध्याँरो पक्ष पनि देख्न थाल्छन् ।

किन श्रीकृष्णले मुरली र शंख बोक्छन् ?

श्रीकृष्णको हातमा मुरली वा शंख बोकेको देखाइन्छ । युद्धको उद्घोष गर्ने बेला उनको हातमा शंख देखिन्छ र रसिक अवस्थामा चाँहि मुरली । युद्धका समयमा शंख बोकेका श्रीकृष्णको अर्थ साधक सांसरिक सुखभोगबाट माथि उठिसकेको अवस्था हो । यस्ते आफैभित्रको निराकारबाट ध्यानिहरु गुञ्जन थाल्छ वा त्यसको अनुभूत हुन थाल्छ, बाहिर र भित्रको ध्वनी एकाकार हुँदै जान्छ भने यस्तो अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्जनमय हुन्छ । यसलाई मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरिन्छ ।

श्रीकृष्ण स्वरुपको अर्थ

धार्मीक पुस्तकहरुमा श्रीकृष्ण व्यक्ति नभएर समस्त सृष्टिको परमशक्तिको प्रतिक हो भनिएको छ । उनको रुप र विभिन्न क्रियाकलापबाट एउटा मानिस मावन, साधक हुँदै भगवान हुन पुग्छ भन्ने दर्शाइएको हो । अत: श्रीकृष्ण जन्माष्टमी त्यही साधनाको चरणमा प्रवेश गर्ने एउटा अवसर पनि मानिन्छ । श्रीकृष्णको अन्य ६ जना दाजु जन्मिएका थिए, जसलाई कंसले मारिदिए । भनिन्छ, एक पटक देवकीले आफ्ना सवै मृत्त पुत्रलाई फिर्ता गर्नका लागि कसंलाई भनेका थिए, ताकी उनले आफ्नो छोराहरु देख्न पाउन् । छोराहरुको नाम स्मर, उदगी, पेरिसवंगा, पटंगा, कुसुब्रट र घर्नी थियो । यसलाई विभिन्न मानव इन्द्रियको रुपमा जानिन्छ । स्मरको अर्थ स्मृति, उदगीको अर्थ बोली, पेरिसविगको अर्थ सुन्नु आदि । उनीहरुको मृत्युपछि कृष्णको जन्म भएको थियो ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा काटिएको सार्वजनिक बिदालाई सरकारले फेरि निरन्तरता दिएको छ ।

प्रकाशित मिति : २०७९, ३ भाद्र शुक्रबार ००:००  ११ : १० बजे