काठमाडौं । काठमाडौं महानगरपालिका मापदण्ड विपरितका अण्डरग्राउण्ड पार्किङ हटाउन ‘एक्सन’मा उत्रिएको छ । व्यापारीहरुलाई दिएको ३५ दिने अल्टिमेटम सकिएसँगै ‘एक्सन’मा उत्रिएको महानगर नगरप्रहरी बलका प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए ।
व्यापारिक भवन बनाउने मापदण्ड अनुसार बनाइएका अण्डरग्राउण्ड पार्किङमा पनि व्यापार गरेको हुँदा सो व्यापार हटाउने काम सुरु भएको एसपी पाण्डेले बताए । “हामी अहिले बानेश्वर क्षेत्रको पार्किङस्थल हटाइरहेका छौँ,” उनले भने ।
महानगरले घर र भवन निर्माण पास भएको नक्सा अनुसार अण्डरग्राउण्ड पार्किङको प्रयोग गर्न महानगरले साउन १ गते अल्टिमेटम दिएको थियो । एसपी पाण्डेले भने, “हामीले ३५ दिने सूचना जारी गरेर पार्किङ हटाउन भनेका थियौँ । सो सूचना अटेर गरेर नहटाउनेलाई कारबाही गर्छौं ।”
महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पनि अनुगमन गर्नेछन् । काठमाडौंमा लामो समयदेखि सवारी साधन पार्किङको समस्या छ । मापदण्ड अनुसार व्यापारिक भवनमा अनिवार्य अण्डरग्राउण्ड पार्किङ बनाइए पनि महानगरले मापदण्ड लागु गर्न सकेको छैन ।












