काठमाडौँ । कोभिडका कारण अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययन आगमन रोकेको अस्ट्रेलियाले खुला गरेलगत्तै ठूलो संख्यामा भिसा लागेको थियो, तर केही महिनायता यो दर निरन्तर घटिरहेको छ । गत जुन महिनामा भेट कोर्समा सबैभन्दा कम अर्थात् २२ प्रतिशत नेपाली विद्यार्थीको मात्रै भिसा लागेको छ ।
यस्ता छन् अस्ट्रेलिया पढ्न जान चाहनेलाई टिप्स……………..
१. विश्वसनीय अंग्रेजी प्रवीणता परीक्षाको तयारी गर्ने र अब्बल अंक ल्याउने ।
२. अंग्रेजी तयारी गर्दादेखि नै वित्तीय कागजातको तयारीमा पनि अभिभावकलाई संलग्न गराउने ।
३. जागिरे अभिभावकले आफ्नो तलब खातामा आउने प्रमाणको रूपमा १२ महिनाको तलबको विवरण, १२ महिनाकै स्यालरी स्लिप, जागिर खाएको प्रमाणित कागजात, प्यान, कर तिरेको तीन वर्षको प्रमाणको कागजात संकलन गर्ने ।
४. व्यावसायिक आम्दानीका आधारमा आफ्ना छोराछोरीलाई विदेश अध्ययनमा पठाउन चाहने अभिभावकले व्यवसायको प्यान, कम्पनी दर्ताको कागजातमा नाम खुलेको कागजात, तीन वर्षसम्म कर तिरेको रसिद, एक वर्षसम्मको व्यावसायिक खाताको कारोबारको प्रमाण तयार गरी भिसा कागजातमा संलग्न गर्ने ।
५. घर–जग्गा बेचेर पढाउन पठाउने अभिभावकले लालपुर्जा, बेच्ने र किन्नेको विस्तृत विवरण, खाताबाट किनबेचमार्फत कारोबार गरिएको अद्यावधिक बैंक ट्रान्जेक्सन, मालपोत कार्यालयबाट मोठ श्रेस्ता प्रमाणित कागजातको विवरण सुरक्षित राख्ने ।
६. शैक्षिक कर्जाबाट पढ्न चाहने विद्यार्थीले धितोको स्पष्टता उल्लेख गरिएको तीन वर्षसम्म मालपोत तिरेको कागजलाई सुरक्षित रूपमा भिसा आवेदनका लागि संकलन गर्ने ।
७. आफू पढ्न जाने कोर्स, पहिला पढेको कोर्सअनुरूपको विषयसँग सम्बन्धित भएको हुनुपर्ने वा कार्य अनुभवको आधारमा छनोट गरिएको हुनुपर्ने ।
८. कलेज वा विश्वविद्यालय वा सहर छनोट क्षणिक उद्देश्यले प्रभावित नभई दीर्घकालीन उद्देश्य प्राप्तिका निम्ति हुनुपर्ने ।
९. अस्ट्रेलिया अध्ययनको स्पष्ट उद्देश्य र पढेर फर्कने प्रशस्त आधार तयार गरी स्टेटमेन्ट वा उद्देश्य लेख्न ध्यान दिने ।
१०. विश्वसनीय परामर्श र शैक्षिक परामर्शदाताको सहयोग लिने ।
सन्तोष प्याकुरेल, अध्यक्ष, राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)