२०८१, ७ मंसिर शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचखालले गर्ने भयो लगानी सम्मेलन



काभ्रे। पाँचखाल नगरपालिकाले यो वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण सम्मेलन लगातार तीन वर्ष अनिश्चित भएको थियो ।

तीन वर्षदेखिको लगानी सम्मेलन गर्ने चाहनालाई यो वर्ष मूर्तरूप दिइने नगरप्रमुख महेश खरेलले बताए । ‘लगानी सम्मेलनको चाहना त्यत्तिकै हुने हो कि भन्ने लागेको थियो, पुनः नगरप्रमुख भएपछि त्यो चाहनालाई दोस्रो कार्यकालको पहिलो वर्षमै पूरा गर्नेतिर लाग्नेछु,’ उनले भने ।

कोरोनोको चरणबद्ध सङ्क्रमणको असर कम हुँदै जान थालेकाले यो वर्ष उपयुक्त हुने देखिएकाले सम्मेलनको तयारीमा लाग्ने खरेलले बताए । आर्थिक वर्ष २०७६/७७ मा कार्यपालिकाले निर्णय गर्दै बजेट विनियोजन गरी तयारीमा जुटे पनि त्यतिबेला कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि लगानी सम्मेलन योजनामै सीमित भएको थियो ।

सम्भावित कोरोनाको तेस्रो लहरका कारण पनि गत आर्थिक वर्षको अन्त्यसम्ममा सम्मेलन गर्ने कार्यतालिका बनाउन नसकेको खरेलले बताए । उनका अनुसार सम्मेलनमा लगानीकर्ताबाट १५ अर्बको लक्ष्य लिइएको छ ।

खरेलले भने, ‘कोरोना तेस्रो लहरले नगन्य मात्रामा असर देखिएकाले अब सम्मेलन गर्न सकिने निचोडमा पुग्यौँ र यो वर्ष गर्ने योजना बनाएका छौँ, यसका लागि लगानीकर्ता निम्त्याउनेबारे अध्ययन सुरु गर्दैछौँ ।’

यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु आर्थिक वर्षमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न अघिल्ला दुवै आर्थिक वर्षमा प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए ।

‘पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरु भएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका छौँ,’ खरेलले भने ।

प्रकाशित मिति : २०७९, ८ भाद्र बुधबार ००:००  ११ : ४० बजे