२०८१, ८ बैशाख शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायण गोपालको ‘झरेको पातझै उजाड…’ झै मानबहादुरको जीन्दगी



लमजुङ । ‘झरेको पातझै भयो, उजाड मेरो जिन्दगी, निभेको दीप झै भयो उदास मेरो जीन्दगी।’

स्वर सम्राट नारायण गोपालले यी हरफमा उल्लेख गरेझै बागलुङ जिल्लाको कालापैरा घर भई विगत नौ वर्षदेखि लमजुङमा बस्दै आएका ४७ वर्षीय मनबहादुर विकको जीवन पनि यस्तै भइरहेको छ ।

शारीरिक रुपमा अशक्त उनको देब्रे खुट्टा छैन । पाँचजनाको परिवार रहेको मनबहादुरको आम्दानीको कुनै स्रोत छैन । काम गरेरै खान शारीरिक अवस्थाले दिँदैन । परिवारको गुजारा चलाउन दैनिक बिहानैदेखि  विभिन्न स्थानमा बैशाखीको सहारामा आर्थिक सहयोग माग्दै परिवारको जीवन धान्नुपर्ने बाध्यता छ ।

बागलुङमै रहँदा  घर बनाउने क्रममा घरमा पालेको बस्तुभाउका लागि स्याउला काट्ने क्रममा रुखबाट खसेर उनको देब्रे खुट्टाको दुई ठाउँको हड्डी भाँचियो । जिल्ला अस्पतालमा उपचारका  क्रममा गोडाभन्दा तलको सबै भाग काटेर फाल्नु पर्‍यो । चार महिना उपचार गरेर घर फर्केपछि करिब १४ महिना घरमै आराम गरेर बस्नुपरेको उनको भनाइ छ ।

मनबहादुरको दुःख त्यतिमै सीमित भएन । उपचारका लागि  सात लाख लाग्यो । त्यतिका पैसा घरमा नभएको र उनका आफ्नै दाइले प्रभु बैंकबाट ऋण निकालेर उपचार खर्च तिरिदिए ।

मेलापात र घरबनाउने काम गरेर जसोतसो गुजारा चलाउँदै  आएका उनलाई यतिको रकम खर्च गर्नुपर्दा र  शारीरिक रुपमा अशक्त हुनुपर्दा चिन्ताले सताउन थाल्यो ।

श्रीमतीसहित  दुई छोरा र एक छोरी भए पनि छोराछोरी बालकै  भएकाले कमाउन सक्दैनन् ।  आफूले पनि काम गर्न नसक्ने भएपछि मामाको सल्लाहअनुसार लमजुङ भोटेओडारको फेदीकुनामा विसं २०७० मा बसाइ सरेर  मागेरै परिवारको गुजारा चलाउँदै आएको मनबहादुर  बताउँछन् ।

बेँसीसहर नगरपालिका–८ बस्दै आउनु भएका  उनका १७ वर्षीय एक छोरी, १४ वर्षीय र १२ वर्षीय छोरा बागलुङमै रहेका त्यहीको सरकारी विद्यालयमा अध्ययनरत छन् । उनीहरुरूसहित आफू र श्रीमतीका लागि दैनिक मागेर जीवनयापनका साथै  उपचार गर्दा लागेको ऋण मासिक साढे १२ हजारका दरले बुझाउँदै आएको उनी सुनाउँछन् ।

मागेरै दैनिक  न्यूनतम  एक हजार २०० देखि दुई हजारसम्म जम्मा हुने र  छोराछोरीका लागि दुई तीन महिनामा २० हजारदेखि ३० हजारका दरले पैसा पठाउने गरेको बताउँछन् मनबहादुर  महिनाभर मागेरै हिँड्न नसक्ने उल्लेख गर्छन् ।  थकाइ लाग्छ, कहिले बिमारी भइन्छ । त्यसैले महिनामा १४/१५ दिन मात्र मागेर हिँड्ने गरेको छु उनी भन्छन् । ‘मेला महोत्सव, चाडपर्वका साथै जिल्लाको सिमपानी, खुदी भूलभूले, बेँसीसहर, घलेगाउँ, मालिङ, मध्यनेपाल, सुन्दरबजार, भोटेओडारलगायत स्थानका  घरघरै र बाटोमा बसेर पैसा माग्ने गर्दा प्रतिव्यक्ति पाँचदेखि ५० रुपैयाँसम्म दिने गरेको मनबहादुर बताउँछन् ।

मुलुकमा कोरोना सङ्क्रमण फैलिनुभन्दा केही महिनाअघि पैसा माग्दै दुई पटकसम्म मनाङको खाङसारसम्म पुगेको र त्यति बेला राम्रो पैसा उठेपछि पुनः गत जेठमा मनाङ पुगेपनि मनाङवासी यार्सागुम्बा सङ्कलनका लागि जानुपरेकाले परेकाले खासै पैसा नउठेपछि लमजुङमै फर्किएर आउनुपरेको थियो ।  यसरी पैसा माग्दै जीवन चलाउँदै आए पनि पैसा माग्नलाई सजिलो नभएको र माग्दा कसैले दिने र कसैले सहन नसक्ने गरी बचन लगाउने गरेको उहाँको भनाइ छ ।

कसैले तपाईजस्तो मान्छेलाई दिनुपर्छ भन्छ, कोहीले अहिले पैसा छैन पछि दिउला भन्छ, कसैले हातको सीप गरेर कमाउन सुझाव दिएर मात्र जान्छन् । कोहीले त पैसा दिनाको सट्टा नानाथरीका बचन लगाउने गरेको मनबहादुर गुनासो गर्छन् ।

प्रकाशित मिति : २०७९, ९ भाद्र बिहीबार ००:००  ४ : ३८ बजे