२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तमानखोला गाउँपालिका: सडक सुविधाले बढायो बाँच्ने रहर



बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुपर्यो । अझै पनि उनी हट्टाकट्टा छन् ।

गाउँमा सडक आएपछि उहाँले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउछन् । “अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन, यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानुपथ्र्यो, बिहान उठेर बजारमा गयो भने मध्यरातमा फर्कनुपथ्र्यो”, छन्त्यालले भने, “आजभोलि त बजार जान पनि पर्दैन सकैथोक गाउँमै छ, पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ ।”

दशक अगाडि तमानखोलाका गाउँहरूसम्म पुग्ने फराकिला गोरेटो बाटाहरू थिएनन् । स्थानीय बासिन्दा साँघुरै गोरेटोमा उकाली–ओराली गर्थे । त्यही गोरेटोमै पशु चौपाय ओहोरदोहोर गराउँथे । अहिले ती उकाली–ओलारी गर्ने गोरेटोहरू फेरिएका छन् । गोरेटो बाटो फेरिएसँगै स्थानीयको मन फेरिएको छ, तन फरिएको छ र जीवनशैली नै फेरिएको छ ।

कुनै समय मान्छे ओहोरदोहोर गर्न सकस पर्ने गोरेटोमा अहिले सररर मोटर गुड्छन् । यसरी गाउँमा मोटरबाटो आउला भन्ने स्थानीयवासीले कल्पनासमेत गरेका थिएनन् । तर अहिले गाउँमा दैनिक गाडी गुड्दा दङ्ग छन् । सडकले यहाँको रहनसहन र दैनिकी फेरिँदै छ ।

कतिपय यसलाई देशमा आएको राजनीतिक प्रतिफल मान्छन् त कोही समयले ल्याएको परिवर्तन । “गाउँमा सडक आयो बिरामी भएपछि सहजै अस्पतालसम्म पुग्न सकिन्छ, गाउँलेहरूको धेरैजस्तो समस्या समाधान भएको छ, गाउँमा सडक आउला, यस्तो विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ”, छन्त्याल भन्छन् , “हामी त निकै दुर्गममा छौँ, यस्तो ठाउँमा गाडी आउला, सुविस्ता देला भन्ने लागेको थिएन, तर अहिले यसरी घरै अगाडि सधैँ गाडी गुड्दा अचम्म लाग्छ ।”

उनले बिरामी पर्दा डोकोमा बोकेर अस्पताल पुर्याउने गरेको स्मरण गर्दै सडकले अहिले सामान्य उपचारका लागि टाढा पुग्न नपर्ने बताउछन् । “हाम्रो पालामा कोही मान्छे बिरामी पर्यो भने डोकामा बोकेर अस्पताल पुर्याउन पर्थ्यो , बाटोघाटो गतिलो थिएन, त्यसरी अस्पताल लैजाँदै गर्दा कतिको बाटैमा मृत्यु भयो, कति निको भएर घर फर्के, अहिले कोही बिरामी पर्दासाथ गाडी बोलायो, गाडीमा हालेर उतिखेरै अस्पताल पुर्उँयाछन्, सामान्य उपचार त गाउँमै पनि हुन्छ ।”

तमानखोला गाउँपालिकामा स्थानीय सरकार आएपछि २७ बस्तीमा सडक पुर्याएको छ । यसले स्थानीयवासीलाई खुसी त दिने नै भयो, दैनिकीसमेत फेरिदिएको छ, जीवनशैली फेरिदिएको छ । अब उनीहरूलाई पहिलोको जस्तो कहालीलाग्दो जीवन बिताउनुपर्ने छैन । सडक पुगेपछि अन्य विकासका पूर्वाधार पनि धममाधम निर्माण भइरहेका छन् ।

आलु र सिमी उत्पादनका लागि तमानखोला प्रख्यात मानिन्छ । आधा दशक अगाडिसम्म यहाँ उत्पादित सामग्रीहरू बजार बाहिर जाँदैनथे । सडक थिएन । स्थानीयले बोकेर बजारसम्म पुर्याउन गाह्रो थियो । जब गाउँहरू मोटरबाटोले जोडिए । तब उत्पादित वस्तुले बजार पाउन थाले । कृषकको पनि जीवनशैली सहज बन्दै गयो ।

अब वर्षौँदेखि सडक नहुँदा भोग्दै आएका समस्याहरू विस्तारै समाधान हुने क्रममा छन् । तमानखोलामा स्थानीय सरकार आउनुपूर्व दुईवटा बस्तीमात्रै मोटरबाटोले जोडिएका थिए । अहिलेसम्म आउँदा छवटै वडाका सबै बस्तीमा मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान र वडा नं ३ को तमान गाउँ स्थानीय सरकार आउनुपूर्वनै मोटरबाटोले जोडिएका थिए ।

म्याग्दीसँग सीमा जोडिएको तमानखोला धार्मिक पर्यटकीय हिसाबले पनि अत्यन्तै सम्भावना बोकेको छ । चर्चित सोलेडाँडा, बराहताललगायतका पर्यटकीय गन्तव्यसम्म गाउँपालिकाले सडक पुर्याएको छ । सडकका कारण पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटक बढ्न थालेका छन् । पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि तमान, लाम्मेला, नर्जाखानी, खुङ्खानी, भयरभोङ्गा, स्याउलालगायतका ठाउँमा वर्षात्को समयमा सिधा यातायात सञ्चालन हुनसकेको छैन ।

यी ठाउँहरूमा सिधा यातायात सञ्चालनका लागि बोङ्गादोभानमा मोटरेवल पुल निर्माण हुँदै छ । यहाँ पुल निर्माणपछि पालिकाको केन्द्रदेखि सबै वडा र बस्तीमा सिधा यातायात हुनेछ । गत वर्षसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्रसम्म पनि वर्षात्को समयमा सिधा यातायात हुँदैनथ्यो । ढोरपाटन नगरपालिका–३ हुँद्राफेँदी र तमानखोला गाउँपालिका वडा नं १ बालिभाङमा दुईवटा मोटरेवल पुल निर्माण भएपछि अहिले बाह्रै महिना सिधा यातायात सञ्चालन हुन्छ ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जिल्लामा सबैभन्दा दुर्गमको पालिका तमानखोला भएको हुँदा विकास निर्माणमा निकै चुनौती भएको बताए । चुनौतीका बाबजुद सबै बस्तीमा सडक पुर्याउन सफल भएको बताए । भौगोलिक विकटता र छरिएर रहेको बस्तीका कारण सडक सञ्जालले जोड्न केही ढिला भए पनि पाँच वर्षमा सबै बस्तीमा मोटरबाटो पुगेको उनी बताउछन् ।

“तमानखोला गाउँपालिका दुर्गम पालिका हो, यहाँको भौगोलिक बनावट, छरिएको बस्तीका कारण हामीलाई विकास निर्माण गर्न निकै चुनौती थियो, त्यसका बाबजुत पनि पालिकाको २७ वटै बस्तीमा अहिले गाडी गुड्न सक्छन्”, अध्यक्ष बुढामगरले भने, “पाँच वर्षको कार्यकालमा सडक सञ्जालले सबै बस्ती जोड्यौँ, अब ती सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी विकास गर्नुपर्ने छ, हामी त्यसअनुसार लागिपरिरहेका छौँ ।”

अध्यक्ष बुढामगरले सडक नै विकास निर्माणको मुख्य आधार भएको र सडक निर्माणपछि मात्रै अन्य विकास गर्न सकिने बताए । गाउँपालिकाले पहिलो वर्षदेखि नै सडकलाई प्राथमिता दिएर काम गरेको हुँदा अन्य विकास निर्माणका कामहरू गर्न सजिलो भएको अध्यक्ष बुढामगरको भनाइ छ ।

सडकले पर्यटन, उद्योग, कृषि र पशुपालनमा समेत ठूलो सहयोग पुर्याएको उनले बताए । “पाँच वर्ष अगाडि पालिकाका धेरै गाउँहरू सडकविहीन थिए, अहिले जहाँ पुग्छौँ, त्यहाँ गाडीमै पुग्न सक्छौँ, कहीँकतै साना बस्ती भएको ठाउँमा सडक नपुगेको होला तर सबै ठाउँमा सडक पुगेको छ, हामी निर्वाचित भएर आएको पहिलो वर्षदेखि नै सडकलाई प्राथमिकता दिएर काम गरेका थियौँ, अहिले दोस्रो कार्यकाल पनि सुरु भएको छ, अब सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गछौँ”, अध्यक्ष बुढामगरले भने, “सडक निर्माणपछि अन्य विकासका काम पनि गर्न सहज भएको छ ।”

सडकले कृषकलाई समेत ठूलो राहत पुर्याएको अध्यक्ष बुढामगरको भनाइ छ । उनले सडकले नजोडिँदा यस क्षेत्रका कृषकले उत्पादन गरेका वस्तु खेर गएको र अहिले राम्रो बजारसमेत पाउने गरेको बताए । “सडकले कृषकलाई धेरै सहयोग पुगेको छ, हाम्रो पालिका पशुपालन र आलुखेतीमा अब्बल छ, पहिलेदेखि नै यहाँका कृषक खेतीपाती र पशुपालनमा लागेको हुँदा बजार अभाव थियो, बोेकेर लैजाने अवस्था थिएन, अहिले व्यापारी खरिद गर्न गाउँमै आउँछन्”, उनले भने , “अझ पर्यटन क्षेत्रको प्रचार–प्रसारमा समेत सहयोग पुगेको छ, सडक नहुँदा सोलेडाँडा, बराह ताललगायतका गन्तव्यमा आन्तरिक पर्यटक आउँदैनथे, अहिले सडकले गर्दा हिउँद–बर्खा जहिले पनि मान्छे आइरहन्छन् ।”

गाउँपालिकाले सडकसँगै स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि जोड दिएको छ । नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि एक घण्टाको दूरीमा सामुदायिक स्वास्थ्य एकाइ, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य उपचार केन्द्र बनाएको छ । शिक्षातर्फ पनि स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गरेको छ ।

प्रकाशित मिति : २०७९, १२ भाद्र आइतबार ००:००  १२ : ५४ बजे