धर्मेन्द्र चौधरी, कपिलवस्तु। वर्षाका कारण कपिलवस्तुको विजयनगरमा रहेको शंकरपुर तालको बाध फुटेको छ । कपिलवस्तुकै सुदूरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले विभिन्न प्रयासहरू गरेको थियो ।
लगातारको वर्षाका कारण ताल फुटेसँगै जोखिम बढेको छ । तालको बाध फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए। गाउँपालिका कै पर्यटकीय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल फुटेसँगै स्थानीय त्रसित भएका छन् ।
ताल फुटेसँगै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टिम सोही स्थानमा पुगेको छ । सयौँ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिँचाइका कुला, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुसूचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताए ।
विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरि संरक्षणका लागि विभिन्न कामहरू गरेको र अझ व्यवस्थित गर्नका लागि प्रदेश, केन्द्र सरकारसँग निरन्तर पहल गर्दा पनि प्रदेश, केन्द्र सरकारले चासो नदेखाएका कारण अहिले यो अवस्था आएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले भने, ‘प्रदेश र केन्द्र सरकारले चासो देखाई आवश्यक बजेट विनियोजन गरेर ताल संरक्षणका लागि ड्याम बाँधि व्यवस्थित गरेको भए तालको अहिले यो अवस्था हुने थिएन, हामीले निरन्तर पहल गरिरहेका थियौं ।’ थापाले यसलाई व्यवस्थित गर्नका लागि ठुलो लगानी आवश्यक रहेकाले गाउँपालिकाको सीमित स्रोत र साधनले नपुग्ने बताए ।
जिल्लाको पश्चिमी क्षेत्रकै सबै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा बजारबाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको स्थानीय बताउँछन । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वास रहेकोले सोही अनुरूप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानीय बताउँछन् ।
शंकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।












