सर्लाही । सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् ।
जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले किसानको उखु खरिदवापतको रकम नदिएको भन्दै जिल्लाका किसान आन्दोलनमा जानुपरेको थियो । आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसान रामेश्वर महतोले बताए । उनका अनुसार जिल्लाका केही उद्योगले किसानको रकम समयमै भुक्तानी गरे पनि केही उद्योगले रकम भुक्तानी नगर्दा आफूहरूले पटक–पटक आन्दोलन गर्नुपरेको हो ।
उद्योगहरूले दिने रकम किसानको आन्दोलन, सरोकारवाला निकायको पहलबाट रकम उठ्ने क्रम जारी रहेको भए पनि सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको उखु उत्पादक किसान रामकेशव साहले बताए । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि अनुदान रकम भुक्तानी नपाउँदा घर–व्यवहार चलाउन गाह्रो भएको जिल्लाका किसानको गुनासो छ ।
नेपाल सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल तथा उखुखेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउँछन् ।
गत आर्थिक वर्षका लागि नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल रु पाँच सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति भएको तर रकम पाउन नसकेको उखु किसान राजकुमार उप्रेतीले बताए ।
यता चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्याङ्क उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले बताए । उनले उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्याङ्क पठाउन ताकेता गरिएको र उद्योगले तथ्याङ्क पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने बताए ।
जिल्लामा तीनवटा उखु मिल रहेका छन् । जसमा इन्दुशङ्कर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी नै रहेको छ ।