२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर अधिकांश ठाउँमा सडक अवरुद्धः कतै एकतर्फी खुल्यो, कतै खुलाउने प्रयास   



काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । सिन्धुपाल्चोक, नवलपरासी, सिन्धुली, म्याग्दी, मकवानपुर, दैलेख, काभ्रे, रौतहट, प्यूठान, अछाम, लमजुङ, मुस्ताङ, मनाङमा बाढीपहिराले सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको सडक विभागले जनाएको छ ।

नवलपरासी पूर्वमा पर्ने पूर्व पश्चिम राजमार्गको गैँडाकोट थुम्सीमा खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध सडक एकतर्फी खुलेको छ ।
नवलपरासीकै दाउन्ने भन्ने ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक पनि एकतर्फी सञ्चालनमा आएको छ ।

लम्जुङको मर्स्याङ्दी गाउँपालिका ४ र बेशीशहर ६ मा खसेको पहिरोका कारण यो सडकखण्डमा गाडी चल्न सकेका छैनन् । यस्तै म्याग्दी जोमसोम सडकखण्डमा पनि गाडी चलेका छैनन् । यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएकाले गाडी नचलेको प्रहरीले जनाएको छ । यस्तै साँफे मार्तडी सडकखण्ड पनि अवरुद्ध भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका २ अम्कोटमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । बिपी राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका २ सिन्धुलीमा पहिरो गएपछि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यस्तै दैलेख सुर्खेत सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे गुराँसे गाउँपालिका १ पिपलचौतारा दैलेखमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । यस्तै अरनिको राजमार्ग अन्तर्गत ८ वटा भित्री सडकमा गाडी चलेका छैनन् । पहिरोका कारण ललितपुरको चापागाउँ हेटौंडा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०७७, २८ असार आइतबार ००:००  ३ : १४ बजे