काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित आनन्द भैरव माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
बाल दिवस २०७९ सालको पूर्वसन्ध्यामा बालबालिकाहरूको लागि कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन भएको हो। शिविरमा नगर अस्पतालका विशेष विशेषज्ञ सहितको टोलीले बालबालिकाहरूका आँखा‚ कान‚ नाक‚ तथा दन्त परिक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
नगर प्रमुख उपेन्द्र कार्कीले समृद्ध नगर बनाउन पूर्वाधार विकासले मात्र सम्भव नहुने भन्दै जनताको आवश्यकता अनुसार सबै क्षेत्रमा काम गर्न सके नगरलाई विकासको बाटोमा लैजान सकिने बताए ।
नगरका प्रमुख प्रशासकीय अधिकृत भोज राज घिमिरेले कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम बनाएको बताए । उनले पहिलो चरणमा सामुदायिक र सो पश्यात निजी विद्यालयमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का अध्यक्ष भीमसेन थापाले निर्वाचनताका जनप्रतिनिधिहरूले गरेको प्रतिवद्धता अनुसार काम भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा वडाले नागरिककालाई विशेष योजना बनाएको र सोही अनुरूप काम हुने जानकारी दिए ।
कार्यक्रममा सहभागी विद्यार्थी नगरपालिकाप्रति खुसी व्यक्त गर्दै सबै ठाउँमा यस्ता कार्यक्रम सञ्चालन हुनुपर्ने बताए। निशुल्क स्वास्थ्य शिविरमा करिब नौ सय बढी विद्यार्थीले सेवा लिएका थिए ।